निर्वाचन आचार संहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याईने : प्रजिअ हमाल
दलबहादुर सुनार, १३ फागुन, गुलरिया (बर्दिया) । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्वाचन आचार संहिताको उल्लंघन गर्ने जोकोही कानुनी दायरामा आउने बताउनु भएको छ । चाडपर्व तथा प्रतिनिधि सभा सदस्य निर्वाचन आचार संहिता लगायतका विषयमा सर्वदलीय सर्वपक्षीय बैठकमा उहाँले सोकुरा बताउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको सभा कक्षमा बुधवार भएको सर्वदलीय बैठकमा प्र.जि.अ हमालले विशेष परिस्थितिबाट सिर्जना भएको निर्वाचन भएकोले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सर्वपक्षीय साझा बुझाई हुनुपर्नेमा जोड दिनुभएको छ । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको मौन अवधिमा नेपाली हिन्दुहरूको होली पर्व र मुस्लिम समुदायको रमजान पर्व पनि सँगसँगै परेको हुनाले पर्वलाई मर्यादित र सभ्य रुपमा मनाउन उहाँले सबैमा अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी हमालले कुनै पनि कर्मचारी, शिक्षक, राजनीतिक दल लगायत सार्वजनिक पद धारण गरेका व्यक्ति र नागरिकहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनु भयो यदि जो कसैले यसलाई कार्यान्वयन नगरेमा कारबाही गरिने पनि बताउनु भयो । निर्वाचन लाई प्रभावकारी, स्वतन्त्र निष्पक्ष बनाउनको निमित्त सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी र सुरक्षाकर्मीबाट चेक जाँचलाई कडाई गरिने बताउदै एक हप्ताको सम्म मदिरा बेचबिखनमा पूर्ण रोग लगाइने प्र.जि अ. हमालले जानकारी गराउनु भयो ।
बर्दिया जिल्लाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले निर्वाचनसँगै नजिक आउँदै गरेको होली पर्व र मुस्लिम समुदायको रमजान पर्वलाई मर्यादित र सभ्य रुपमा मनाउन आग्रह गर्दै सर्वदलिय बैठकमा प्रतिनिधित्व गर्नुहुने सबै व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । पर्वको बहानामा ध्वनि प्रदूषण गर्न नपाइने भन्दै होली पर्वमा के गर्न हुने र के गर्न नहुने भन्ने बारेमा प्रहरीले सूचना पनि जारी गर्ने उपरिक्षक पौडेलले बताउनुभयो ।
यसैगरी सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले निर्वाचनको अवधिमा र कुनै पनि पर्वको बहानामा उश्रृंखल गर्न नपाइने भन्दै सीमा क्षेत्रमा कडाई गरिने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी लोकबहादुर मल्लले निर्वाचन आचार संहिताको बारेमा सबै दल, उमेदवार, कर्मचारी सबै सरोकारवालाले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सर्वपक्षीय एवं सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित धार्मिक सञ्जालका अगुवाले निर्वाचन र नजिक आउँदै गरेको होली पर्व र रमजान पर्वलाई सभ्य र मर्यादित बनाउन आचार संहिताको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छ्न । सर्वपक्षीय बैठकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सिद्धराज ओली, जिल्ला स्थित पत्रकारहरू, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायतको उपस्थिती रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
२३ °C काठमाडौं
Facebook Comments