दर्ता नभएका मिडिया फौजदारी कारवाहीमा पर्छन् : प्रेस काउन्सिल अध्यक्ष शर्मा
दलबहादुर सुनार, २४ माघ, बर्दिया । बर्दियाका पत्रकारहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वस्थ स्वच्छ स्वतन्त्र बनाउने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दियाको संयोजनमा अन्र्तक्रिया गरिएको हो ।
मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले सहभागी पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै नागरिकको लागि नागरिक स्वतन्त्रता हो प्रेस स्वतन्त्रता भनेको पत्रकारहरुको लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रेस काउन्सिलले पत्रकारहरूको रक्षा र स्वतन्त्रताको लागि संरक्षण गर्छ । पत्रकारले जनताको कुरा र राज्यको कुरालाई जोड्ने काम गर्ने भएको बताउँदै सूचना पाउने हकको लागि काउन्सिलले जहिले पनि संरक्षण गरिरहने बताउनु भयो ।
प्रेस काउन्सिलले दर्ता नभएका गैरकानुनी ढङ्गले सञ्चालनमा भएका मिडियाहरूको लागि काम नगर्ने भएकाले त्यसरी सञ्चालनमा रहेका मिडिया फौजदारी कारबाहीमा पर्ने प्रष्ट्याउनु भयो । दर्ता भएका मिडियाको लागि मात्रै प्रेस काउन्सिलले संरक्षण गर्ने उहाँको भनाई छ । नक्कली मिडिया र नक्कली पत्रकारको काम बन्द गर्न काउन्सिल लागि परिरहेको बताउँदै व्यवहारिक बनाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । संचार माध्यम र सञ्चार माध्यममा आबद्ध पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कुनै व्यक्तिको चरित्र हत्या हुने खालका सामाजिक सञ्जालमा पोस्ट गरेको फेसबुक पेजमा गलत कमेन्ट आयो भने जसले पोष्ट गरेको हुन्छ उसको दायित्व हुने उहाँले बताउनुभयो । पत्रकार राज्यको चौथो अङ्ग भएकोले राजनीतिक कार्यकर्ताभन्दा माथि हुने र पहिचान र गरिमा छुट्टै हुने भएकोले सबै पत्रकारहरु राजनीतिक भन्दा माथि उठेर पत्रकारिताको धर्मभित्र रहेर कलम चलाउनुपर्नेमा उहाँको जोड छ । जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी लाल बहादुर मल्लले निर्वाचन आचारसंहिता लागु भैसकेकोले त्यसलाई पूर्ण पालना गराउन पत्रकारको अहम भूमिका रहने औल्याउनु भयो ।
महासङ्घ नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालकी अनुगमन शाखा प्रमुख सरिता ढकालले निर्वाचन सम्बन्धी आचार समिताको बारेमा सहजीकरण गर्नुभएको थियो । महासंघ जिल्ला शाखा बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखाका पूर्व अध्यक्ष यादव आचार्य, वरिष्ठ पत्रकार कमलपन्थी लगायत जिल्ला स्थित सक्रिय छापा मिडिया अनलाइन मिडिया राष्ट्रिय तथा स्थानीय मिडियाका पत्रकारहरूको सहभागिता रहेको थियो ।
२३ °C काठमाडौं
Facebook Comments