• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
बाघ–चितुवाको आक्रमण नियन्त्रणको मागगर्दै बर्दिया प्रशासन घेराउ

केशव कोईराला, २३ माघ, बर्दिया । जंगली जनावर बाघ र चितुवाको आक्रमणबाट दिनहुँ जनधनको क्षति हुन थालेपछि बर्दिया गुलरिया स्थित तुल्सीपुरका स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आक्रमण नियन्त्रणका लागि ठोस कदम चाल्न मागगर्दै स्थानीयले गुलरिया बजार परिक्रमा गर्दै प्रशासन घेराउ गरेका हुन् ।

गुलरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमका अनुसार जंगली जनावरको आक्रमणका कारण स्थानीय त्रसित बनेका छन् । “मान्छे मार्न पाइँदैन, बाघ हामीलाई चाहिँदैन” तथा “बाघ मार्ने अनुमति पाऊ” जस्ता नारा लगाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । 

छलफलपछि मृतक नन्दु रोकायको  लछोरालाई एमाले पुर्ब सांसद बिना ज्ञवालिले उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने जिम्मा लिएको र मृतककी श्रीमतीलाई गुलरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयमा सहयोगीको रूपमा रोजगारी दिने सहमति भएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले जानकारी दिनुभयो । 

बिहीबार बारबर्दिया नगरपालिका–११ मा पर्ने जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणबाट नन्दु रोकायको मृत्यु भएको थियो । सोही दिन मधुवन नगरपालिका वडा नम्बर ९ तोरीबारीमा काम गर्ने बेला पाटेबाघको आक्रमणमा परी स्थानिय ४९ बर्षिया मैसरा डाँगीको निधन भएको छ । घटनापछि स्थानीयमा आक्रोश बढ्दै गएको छ भने जंगली जनावर नियन्त्रण तथा सुरक्षाका लागि दीर्घकालीन समाधानको माग समेत तीव्र बनेको छ ।

सम्बन्धित समाचार

Facebook Comments