लुम्बिनी साक्षरता प्रदेश घोषणा
केशव कोईराला, पुष १३, बर्दिया । लुम्बिनी प्रदेशलाई आईतबार विशेष कार्यक्रमबीच औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।
प्रदेश अन्तर्गतका १२ वटै जिल्ला पूर्ण साक्षरता जिल्ला घोषणा भइसकेपछि लुम्बिनी प्रदेशलाई समग्र रूपमा पूर्ण साक्षरता प्रदेश घोषणा गरिएको हो । यस उपलब्धिलाई प्रदेशको शिक्षा क्षेत्रमा हासिल गरिएको ऐतिहासिक सफलताका रूपमा लिइएको छ । घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले साक्षरता घोषणा आफैंमा मात्र ठूलो उपलब्धि नभई साक्षरताबाट शिक्षित र सक्षम समाज निर्माणतर्फ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले साक्षरताले समग्र विकासको आधार तयार गर्ने उल्लेख गर्नुभयो । सामाजिक विकास मन्त्री तिमिल्सिनाले साक्षरताले व्यक्तिको जीवनस्तर उकास्नुका साथै सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले अब साक्षरता कायम राख्दै जीवनोपयोगी सीप, गुणस्तरीय शिक्षा र निरन्तर सिकाइमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रदेश सरकारले स्थानीय तह, विद्यालय, स्वयंसेवक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा साक्षरता अभियानलाई सफल बनाएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अभियानमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, माननीय सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, शिक्षा इकाइ प्रमुख, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रका विज्ञ, शिक्षक तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
२३ °C काठमाडौं
Facebook Comments