• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
स्थानिय  बिकासको लागी स्थानिय नेतृत्वलेनै जिम्मा लिनुपर्छ : प्रदेश सांसद तिमिल्सिना 

केशव कोईराला, राजापुर । लुम्विनी प्रदेशका सांसद जन्मजय तिमिल्सिनाले स्थानिय स्तरको बिकासका लागी यहाँको नेतृत्वलेनै जिम्मा लिनुपर्ने बताउनु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभालाई सम्वोधनगर्दै यस्तो बताउनु भएको हो । 


सांसद तिमिल्सीनाले भन्नुभयो “यहाँको बिकास गर्न वाह्य देशबाट कोही आउदैन, यहाँकै नेतृत्वले जिम्मा लिनुपर्छ अरुसँग आशा गर्नु हुँदैन ।” पछिल्लो समय हरेक घरबाट विदेश जाने लहर र विदेशी भूमिमा ज्यान गुमाउने युवाहरुलाई स्मरणगर्दै राज्यले रेमिट्यान्सको आशा मात्रै गर्नु भन्दा कुन तहका कस्ता मान्छे विदेशिदै छन् त्यसको लेखाजोखा गर्न आबश्यक रहेको प्रस्ट्याउनु भयो । आफुले जे गर्न सक्छु तेही मात्रै बोल्ने भन्दै सांसद तिमिल्सिनाले बसन्त साना किसान सहकारी संस्थाको अधुरो भवन पुरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्वता गर्नुभयो । 


नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले संहकारी स्थापना गर्दा असफल हुने भन्नेहरुका अगाडि संस्थाले गरेको प्रगति र उल्लेख्य सदस्य संख्या देख्दा खुशी लागेको वताउनु भयो । पछि स्थापना भएर पनि यस क्षेत्रकै माउ सहकारी बन्न सफल भएकोमा संञ्चालक टिमलाई विशेष धन्यवाद दिदै साना किसान सहकारीले सदस्यका सन्तानलाई रोजगारी र सीप विकासका लागि ३ हजार ५ सय युवालाई इजरायल पठाएको बताउनु भयो । उहाँले संस्थाको अधुरो भवन पुरा गर्न ५ लाख दिने समेत बताउनु भएको थियो । 


कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले लघुवित्त र सहकारीलाई समान रुपले हेर्ने हुदाँ यसको भिन्नता शेयर धनी र सदस्यहरुमा बुझाउन आवश्यक रहेको वताउनु भयो । सहकारीमा सहभागी हुनु पहिलेको सदस्यको अवस्था र त्यस पछिको अवस्थामा मूल्याङ्कन गर्नु पर्ने भन्दै वडाले लक्षित वर्ग अन्तर्गत कृषि र पशुपालन कार्यक्रम वनाएको र सहकारीसँग पनि यस्तै कार्यक्रम रहेकाले सहकारीले सहकार्य गरेर अगाडि बड्नु पर्ने वताउदै वडाध्यक्ष चौधरीले संस्थाको बिकासको लागी वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


९ औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा कुल सदस्य संख्या ८८५, कुल समूह संख्या १६५ र संस्थाको चुक्ता शेयर पूँजी १ करोड ९३ लाख ४१ हजार ४ सय र कुल बचत ६ करोड ३९ लाख ३७ हजार ३ सय ६८ रुपैया ३८ पैसा रहेको र संस्थाले २४ करोड ५१ हजार ७७ रुपैया लगानी गरेको अध्यक्ष तथा कार्यक्रमका सभापति प्रतिमा चौधरीले वताउनु भयो । विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधको सहभागिता रहेको साधारण सभाको सञ्चालन संस्थाकी प्रवन्धक माया वोहराले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments