• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बर्दिया र बाँके निकुञ्जमा पाटेबाघ गणना सुरु

हरी गुरुङ, पुष ०९, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । निकुञ्जहरुमा बाघको संख्या, घनत्व, आहाराजन्य प्रजाति तथा बाघले ओगटेको क्षेत्र पत्ता लगाउन दुवै निकुञ्ज लगायत आसपासका क्षेत्रहरुमा क्यामरा ट्रयापिङ्ग प्रविधिबाट बाघको गणना सुरु गरिएको छ ।

बुधबारदेखि सुरु गरिएको गणना कार्यमा बाँके–बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना लगायत चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरुलाई तालिमपश्चात बाघ गणना कार्यमा खटाइएको बताईएको छ । संघीय वन तथा वन मंत्रालयका सचिव गोविन्द प्रसाद शर्माले बर्दिया राष्ट्रिय निकुञ्जबाट शुभारम्भ गरेको बाघ गणना कार्य ९० दिनसम्म सञ्चालन हुने निकुञ्जले जनाएको छ । ‘बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई ४ वटा व्लकमा विभाजन गरी ९ सय १२  वटा ग्रिड कायम गरिएको छ । 

जसमध्ये ८ सय ३२ ग्रिडमा ४ सय ५२ स्वचालित क्यामेरा राखेर बाघ गणना गरिनेछ भने ५६ जना जनशक्ति र ६ वटा हात्ती प्रयोग गरिने निकुञ्जले जनाएको छ । यसबर्ष पहिलो पटक दाङ्गमा पनि बाघ अनुगमन तथा गणना गरिँदैछ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पहिलो व्लक, बर्दियाको खाता कोरिडोर र सामुदायिक वनका केही  भाग र बाँके निकुञ्जको केही भाग दोस्रो व्लक र बाँके निकुञ्जको बाँकी सबै भागलाई ४ वटा व्लक कायम गरिएको छ ।

बाघ गणना कार्यका लागि नेपाल सरकार लगायत राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत जुलोजिकल सोसाइटी अफ लण्डन र डव्लुडव्लुएफ नेपालको सहयोग र सहकार्य रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ९ सय ६८ वर्गकिलोमिटर र बाँके राष्ट्रिय निकुञ्जको ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा ब्लक बनाएर बाघ गणना तथा अनुगमन गर्ने काम सुरु भएको छ । 

सन् २०१८ को राष्ट्रिय बाघ गणना अनुसार नेपालमा २ सय ३५ वटा पाटे बाघ रहेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क बाघ थिए । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा वयस्क बाघ थिए । सन् २०२२ मा गणनाअनुसार नेपालमा बाघको सख्या ३ सय ५५ पुगेको छ । जसमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा वयस्क बाघ रहेका छन् र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा वयस्क बाघ रहेका छन् भने राष्ट्रिय बाघ गणना हरेक ४ वर्षमा गरिन्छ ।

सम्बन्धित समाचार

Facebook Comments