• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
समृद्धि बहुउद्देश्यीय सहकारीको अध्यक्षमा थापा र्निविरोध

गुलरिया । समृद्धि कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा निम बहादुर थापा पुन र्निबिरोध चयन हुनु भएको छ । शनिवार सम्पन्न सातौ अधिवेशनले थापासहित ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति र्निविरोध चयन गरेको हो ।


कार्यसमितिको उपाध्यक्षमा रिता पौडेल गौतम, सचिव जनक धमला, कोषाध्यक्ष मिरा केसी चयन हुनु भएको निर्वाचन संयोजक यादव आचार्यले जानकारी दिनु भएको छ । त्यस्तै सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, रेशम कुमार जैसी, शुसिला आचार्य, सन्तोष भट्टराई र रञ्जीत थारु निर्विरोध निर्वाचित हुनु भएको छ । लेखा समितिको संयोजकमा रामबहादुर रावल र सदस्यहरुमा नन्दराम जैसी तथा विशेश्वर धमला चयन हुनु भएको छ ।


२३ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट सचिव जनक धमला र कोषाध्यक्ष मिरा केसीले प्रस्तुत गर्नु भएको सांगठनिक तथा आर्थिक प्रतिवेदन बहुमतले पारित भएको छ । अध्यक्ष निम थापाले संस्थाको भावी योजना प्रस्तुतगर्दै सहकारीको सदस्यता बृद्धि भई ७ सय ५१ जना पुगेको बताउनु भएको छ । त्यस्तै सहकारीको शेयर पूजी ८१ लाख ६१ हजार ३००, कुल निक्षेप १ करोड १५ लाख ९२ हजार ५९३ र २ करोड ८० लाख ५ हजार ४६४ रुपैया लगानी भएको जानकारी दिनुभयो । त्यस्तै संस्थाले नावालक समृद्धि खाता, सहकारी शिक्षा, कृषक समूह गठन, उद्योगमा ऋण लगानी गर्ने, ब्याजदरमा हेरफेर गर्ने लगायतका निति कार्यक्रम पारित गरिएको छ ।


सहकारीका उत्कृष्ट कारोबारी मुक्तियार धोवी, बढी बचत तथा नियमित कारोबार गर्ने पुष्पा पाण्डे र बलिराम चौधरी, दैनिक बचत गरी सहकारीबाट बढी ब्याज लाभ गर्ने दीपक अधिकारी र धेरै बचत गर्ने विमल शर्मालाई सम्मान गरिएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी गुलरिया नगरपालिकाका नगर उपप्रमुख सावित्रा गौतमले सरकारले गर्न नसक्ने काम सहकारीले गर्दै आएको बताउनु भएको छ । सदस्यहरु धेरै सहकारीमा नवसी एउटा मात्र सहकारीको सदस्यता लिन उपप्रमुख गौतमको आग्रह छ । कार्यक्रमकी विशेष अतिथी जिल्ला सहकारी संघ बर्दियाको सदस्य एवम् सुनौलौ महिला बहुउद्देश्यीय सहकारी संस्था लि. गुलरियाकी अध्यक्ष ईन्दिरा सुवेदीले सहकारीका सदस्यहरु मजबुद भए सहकारी आफै समृद्ध हुने बताउनु भएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले असल सहकारी संस्थाहरु पहिचान गरी सदस्यता बन्नु पर्नेमा जोड दिनु भएको छ । गुलरियामा स्थापनामा हाईफाई गर्ने सहकारीहरुले नै सदस्यहरुलाई धोका दिने गरेकोले चनाखो बन्न आग्रह गर्नुभयो । कार्यक्रममा गुलरिया नगरकार्यपालिका सदस्य निर्मला मैनाली, राष्ट्रिय सहकारी बैंक भुरिगाउँका प्रवन्धक किरण खत्रीले शुभकामना दिदैं सहकारीलाई उचाईमा पुर्याउन सदस्यहरुको अहम भुमिका रहने औल्याउनु भएको छ । थापाको अध्यक्षतामा भएको उद्घाटन शत्रको सचिव जनक धमलाले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments