स्वर्गिय कृष्ण प्रसाद बस्याल कप क्रिकेटको उपाधि बगलामुखी माविलाई
मुरली गोडिया, पुष १, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा जारी बर्दिया स्कुलकप क्रिकेट प्रतियोगिताको उपाधि बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयले जितेको छ । सोमवार सम्पन्न फाईनल खेलमा बगलामुखी माविले शम्भुशरण मावि खैरापुरलाई पराजित गरेको छ ।
मङ्सिर २१ गतेदेखि सञ्चालित स्वर्गीय कृष्णप्रसाद बस्याल राकेश स्मृति स्कुलकप २०८२ को फाइनल खेलमा बगलामुखी माविले शम्भुशरण माविलाई सुपर ओभरमा १० रनले पराजित गरेको हो । दुवै टिमले १० विकेटको क्षतिमा समान ९४ रन बनाएर अलआउट भएपछि खेल सुपरओभरमा गएको थियो । टसजितेर पहिलो ब्याटिङ गरेको शम्भुशरण मावि खैरापुरले निर्धारित २० ओभरको खेलमा १० विकेटको क्षतिमा ९४ बनाउन सफल भएको थियो ।
शम्भुशरण माविका लागि गौरव खैराहाले १३ बलमा १५ रन बनाएका थिए भने अहमद अलीले २० बलमा १३ बनाएका थिए भने कपिल खत्रीले १० बलमा ११ रनको योगदान दिएका थिए । शम्भु शरण माविलाई ९४ रनमा अल आउट गर्ने क्रममा बगलामुखी माविको तर्फबाट कसिलो बलिङ गर्दै सुशान्त खनालले ७ रन दिएर तीन विकेट लिएका थिए भने आकाश यादवले १६ रन दिएर ३ विकेट र समिर पाण्डेले १३ रन दिएर १ विकेट लिएका थिए ।
९५ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको बगलामुखी माध्यमिक विद्यालयले क्रिजमा खेलाडीहरुले राम्रो पार्टनरसिप गर्न नसक्दा ९४ रन मै अल आउट हुन पुगेको थियो र खेल सुपर ओभरमा गएको थियो । बगलामुखी माविको लागि ब्याटिङ गर्दै अमन यादवले २५ बलमा २१ रन बनाएका थिए भने सुशान्त खनालले ५ बलमा नौ रन र हार्दिक माझिले ११ बलमा आठ रन बनाउँदै सम्पूर्ण टिम ९४ रनमा अल आउट भएको थियो ।
बंगलामुखी माध्यमिक विद्यालयलाई ९४ रनमा रोक्ने क्रममा शम्भुशरण माविको तर्फबाट कसिलो बलिङ गर्दै गौरव खैराहाले ९ रन दिएर ४ विकेट लिएका थिए भने कपिल खनालले १० रन दिएर ३ विकेट लिएका थिए । खेल टाई भएपछि सुपरओभरको खेलमा बगलामुखीले निर्धारित एक ओभरमा १२ रन बनाएको थियो। जितका लागि १३ रनको लक्ष्य लिएर आएको शम्भुशरण मावि दुई रन मात्र बनाउन सक्यो र बंगलामुखी मावि गुलरिया १० रनले विजयी भयो ।
जितसँगै बगलामुखी माध्यमिक विद्यालयले २० हजार नगद प्राप्त गरेको थियो भने दोस्रो भएको शम्भुशरण मावि खैरापुरले १० हजार नगद प्राप्त गरेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव म्यान अफ द म्याच घोषित भएका थिए भने फाइनल म्याचको स्ट्राइकर अफ द म्याच अमन यादव भएका थिए । साथै फाइनलको क्यास अफ द म्याच सलमान अलि भएका थिए ।
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेर प्रतियोगिताभरि बलिङमा १४ विकेट लिएर र ब्याटिङमा ६० रन बनाएका बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव म्यान अफ दि सिरिज भएका थिए भने प्रतिगामी उत्कृष्ट ब्याटिङ गरेर १ सय ५२ रन बनाएका गौरीशंकर मावि गुलरिया ११ डल्लापुरका शाहरुख खान उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । साथै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका फाइनल विजेता बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव उत्कृष्ट बलर घोषित भएका थिए ।
स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा जिल्ला क्रिकेट सङ्घ बर्दियाद्वारा सञ्चालित यस प्रतियोगितामा जिल्लाभरिका १० वटा माध्यमिक विद्यालय हरुको सहभागिता रहेको थियो प्रतियोगिता संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । फाइनल खेलको सम्पूर्ण प्रतियोगीहरूलाई पुरस्कार वितरण स्वर्गीय कृष्णप्रसाद बस्यालकी धर्मपत्नी निर्मला अधिकारी बस्याल र गुलरिया नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष सुरेश गौतमले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्ता किसिमका प्रतियोगिताले खेलाडीहरुलाई क्रिकेट खेलप्रति आकर्षण हुने र नयाँ प्रतिभाहरूको पहिचान हुने हुँदा यस्ता किसिमको प्रतियोगिताको लागि सधैँ जिल्ला क्रिकेट सङ्घ बर्दिया लागिरहने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले बताउनु भएको छ ।
२० °C काठमाडौं
Facebook Comments