• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
लैंगिक हिंसा विरुद्धका अभियान नारामै सिमित

दलबहादुर सुनार, मंसिर २६, बढैयाताल (बर्दिया) । कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नारामै सीमित भइरहेको अभियन्ताहरूको आरोप छ । बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित नेपाल–भारत सीमा क्षेत्रको बी.ओ.पी. कण्ठपुर चेकपोष्टमा आयोजित अभियान समापन कार्यक्रममा महिला अधिकारका क्षेत्रमा सक्रिय अभियन्ताहरूले यस्तो टिप्पणी गरेका हुन् ।

“प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलेको अन्तर्राष्ट्रिय अभियानका क्रममा बढैयातालका विभिन्न वडामा अन्तक्र्रिया तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको महिला शाखा प्रमुख सुजिता चौधरीले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा बढैयातालको आयोजना तथा विभिन्न गैरसरकारी संघ–संस्थाको समन्वय र सहकार्यमा चलेको अभियानको समापन कार्यक्रम बी.ओ.पी. कण्ठपुर चेकपोष्टमै सम्पन्न गरिएको थियो ।

समापन कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले समाजमा रहेका हिंसाका घटनालाई न्यूनिकरण गर्न स्थानीय सरकार, जनप्रतिनिधि तथा संघ–संस्थाको साझा जिम्मेवारी रहने बताउनु भयो । “हिंसा तत्काल समाप्त हुने विषय होइन, तर स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाको सक्रियताले मात्र यसको दर घटाउन सकिन्छ,” उहाँले भन्नुभयो । अध्यक्ष पौडेलले हिंसा सभ्य समाजमा नपच्ने शब्द भएको उल्लेख गर्दै लैंगिक आधारमा हुने कुनै पनि प्रकारको भेदभाव र अपमानलाई रोक्न सबै तहका निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । 

यस्ता कार्यक्रमहरू धेरैजसो कर्मकाण्डमा सीमित हुने भएकाले परिणाममुखी काम हुन नसकेको भन्दै अभियान बस्ती, समुदाय र व्यक्तिसम्म पुग्न आवश्यक रहेकोमा उहाँको जोड छ । त्यस्तै, महिला अधिकार अभियन्ता तथा जनजागरण महिला संघ बर्दियाकी अध्यक्ष गोमा पौडेलले १६ दिने अभियान मात्र चलाएर हिंसा रोक्न नसकिने बताउनु भयो । “हिंसा घरभित्र मात्रै होइन, जहाँ–तही भइरहेको हुन्छ । त्यसलाई रोक्न पालिकाले बजेटसहितको ठोस योजना बनाउनुपर्छ,” उहाँले भन्नुभयो । 

समापन कार्यक्रममा साझेदार संघ–संस्थाका प्रतिनिधि, सीमा सुरक्षा बल बी.ओ.पी. कण्ठपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मानबहादुर थारु, कालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विरसिंह भण्डारी, पत्रकार, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन तथा स्वागत महिला शाखा प्रमुख सुजिता चौधरीले गर्नु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments