• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बढैयातालमा आयोजित यू–१४ फुटबल प्रतिस्पर्धाको उपाधी भगवती माविले उचाल्यो 

दलबहादुर सुनार, मंसिर ११, बढैयाताल (बर्दिया) । एन्फा यू–१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता ०८२ को उपाधी भगवती संस्कृत तथा सामान्य माध्यमिक विद्यालय तिलकानाले उचालेको छ । मयुर युवा क्लबको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा भगवती आ.मा.विले जयकालिका माध्यमिक विद्यालयलाई शून्यको विरुद्ध १ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

समापन समारोहका प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिका–८ का वडा अध्यक्ष तेजनाथ पौडेलले विजेता र उपविजेता विद्यालयका टिम क्याप्टेनहरूलाई शिल्ड र मेडल प्रदान गरेर सम्मान गर्नुभयो । बर्दिया जिल्ला फुटबल संघ र एन्फा बर्दियाको संयुक्त आयोजना तथा बढैयाताल गाउँपालिका र मयुर युवा क्लबको समन्वयमा मंसिर ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तीन संस्थागत र आठ सामुदायिक गरी ११ विद्यालयले सहभागिता जनाएको प्रमुख रेफ्री बिवेश गुरुङले जानकारी दिनुभयो ।

एन्फा लुम्बिनी प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा अन्तर विद्यालय छनोट प्रतियोगिता सञ्चालन भइरहेको बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राजभण्डारीले बताउनुभयो । अध्यक्ष राजभण्डारीका अनुसार बर्दियामा यो चरणको प्रतियोगिता ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा सम्पन्न भइसकेको छ भने अन्य पालिकामा प्रतियोगिता गर्ने तयारी जारी छ ।

सम्बन्धित समाचार

Facebook Comments