बढैयातालमा खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण
दलबहादुर सुनार, मंसिर ०३, बढैयाताल (बर्दिया) । बढैयातालमा खाद्य स्वच्छता तथा सुरक्षित खाद्य अभ्यास सम्बन्धी अभिमुखीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँकेको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको सहजिकरणमा उक्त कार्यक्रम गरिएको हो ।
गाउँपालिका भित्र सञ्चालनमा रहेका हाइवे होटल, रेष्टुरेन्ट, होमस्टे तथा क्याविन सञ्चालकहरुलाई खाद्य स्वच्छता तथा सुरक्षित खाद्य व्यवस्थापनका बारेमा जानकारी अभिवृद्धि गर्ने उद्देश्यले सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले खानामा पोषक तत्वसँगै हानिकारक तत्व पनि हुन सक्ने भएकाले व्यवसायीहरूले कुनै पनि खाद्य सामग्री प्रयोग गर्नु अघि सावधानी पूर्वक पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अर्का खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले स्वच्छताप्रति प्रर्याप्त ध्यान नदिँदा नेपालमा धेरै मानिस बिरामी पर्ने, केहीले मृत्यु समेत भोग्नु परेको उदाहरण प्रस्तुत गर्दै होटल तथा खाद्य व्यवसायीहरूले ६/६ महिनामा अनिवार्य रूपमा स्वच्छता अभिमुखीकरण तालिम लिनुपर्ने बताउनुभयो । विद्यमान नीतिगत व्यवस्थाबारे प्रकाश पार्दै होटल तथा रेष्टुरेन्ट व्यवसायले न्यूनतम १९ बुँदे स्वच्छता मापदण्डको पालना अनिवार्य रहेको र अनुगमनका क्रममा पालना नगरेका व्यवसायमाथि कानुनअनुसार कारबाही हुने उहाँको चेतावनी छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बढैयातालका निवर्तमान अध्यक्ष बालकृष्ण लामिछानेले नेपालमा उद्योग–व्यवसाय सञ्चालन प्रक्रिया अझै पनि झन्झटिलो रहेको उल्लेखगर्दै अनुगमनको नाममा व्यवसायीहरू हतोत्साहित हुने गरेको आरोप लगाउनु भयो । अव्यवस्थित व्यवसायलाई व्यवस्थित रूपमा दर्ता तथा आवद्धता गराउने प्रक्रियामा विभागले सहजीकरण गर्नुपर्ने सुझाव राख्दै उपभोक्तालाई लक्षित व्यवसाय सेवामैत्री हुनुपर्ने र बिक्री वितरणमा राखिने सामग्री अनिवार्य रूपमा स्वच्छ तथा मानक अनुरुपको हुनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षता तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष रविन्द्र रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्योग वाणिज्य संघ बढैयातालका वरिष्ठ उपाध्यक्ष दीपक खनालले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिका भित्रका होटल तथा नास्ता पसल सञ्चालक, उद्योगी, अन्य व्यवसायी, सञ्चारकर्मी लगायतका ब्यक्तिहरुको सहभागिता रहेको संघका महासचिव ज्ञानप्रसाद बगालले जानकारी दिनुभयो ।
२० °C काठमाडौं
Facebook Comments