• २ पुष २०८२, बुधवार
  • १९ °C काठमाडौं
स्थानिय सरकारका सामाजिक कार्यमा नागरिक समाज सहयोगी : संयोजक लामिछाने

दलबहादुर सुनार, २९ कार्तिक, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा यौनिकता शिक्षा सम्बन्धी बृहत अन्तरक्रिया गरिएको छ । बालविवाह न्यूनिकरण तथा किशोर–किशोरीमा देखापर्न सक्ने जोखिमहरू घटाउने उद्देश्यले नागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनामा गरिएको बिहीबारको कार्यक्रममा स्वास्थ्य शाखा बढैयातालका जनस्वास्थ्य अधिकृत रमेश नेपालले यौन तथा बृहत्तर यौनिकता शिक्षा सम्बन्धी विविध पक्षहरूका बारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नागरिक समाज सञ्जाल बढैयातालका संयोजक बालकृष्ण लामीछानेले स्थानीय सरकारद्वारा सञ्चालन हुने समुदाय–उन्मुख सामाजिक कार्यमा नागरिक समाज सञ्जालले निरन्तर रचनात्मक सहयोग गर्दै आएको स्मरण गराउनु भयो ।

नागरिक समाज लुज फोरम हो, यसका संरचना सबै वडामा फैलिएका छन् । हामीले वडा सरकारलाई सुदृढ बनाउन सहयोग गर्दै आएका छौँ,” संयोजक लामीछानेले भन्नुभयो । लक्षित समूहका कार्यक्रम तथा बजेट अन्य क्षेत्रमा खर्च हुने प्रवृत्ति राम्रो अभ्यास नहुने उल्लेखगर्दै स्थानीय तहले गरेका कामहरूको सार्वजनिक सुनुवाइ अनिवार्य रूपमा हुनुपर्नेमा उहाँको जोड छ । अन्तरक्रियामा नागरिक समाजका सदस्य, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो । 

सहभागिहरूले समुदाय तहसम्म बृहत्तर यौनिकता शिक्षा प्रभावकारी रूपमा विस्तार गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य शाखा बढैयातालका प्रमुख विष्णु पौडेलले शाखाबाट प्रदान हुँदै आएका सेवाहरूका बारेमा जानकारी गराउनु भयो । आगामी दिनमा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्दा नागरिक समाजसँग घनिष्ठ समन्वय गरिने पनि पौडेलले बताउनु भएको बाँके युनेस्को क्लबका सुपरभाइजर रामबहादुर थारुले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

Facebook Comments