• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
बढैयातालमा सुत्केरी आमालाई पोषण सामाग्री 

दलबहादुर सुनार, २५ कार्तिक, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ मा सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । मातृशिशु स्वास्थ्यमा जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले बढैयाताल वडा नं. ९ ले सोमवार १७ जना सुत्केरी आमालाई अण्डा र पोषण सामग्री वितरण गरेको छ । 

वडाध्यक्षसंग जनता कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र शक्तिनगरको सहजिकरण र जमुनी आयुर्वेद औषधालयको समन्वयमा गरिएको कार्यक्रममा १७ क्यारेट अण्डा वितरण गरिएको थियो । जमुनी आयुर्वेद औषधालयले १७ जना सुत्केरी आमालाई जडिबुटीबाट निर्मित पोषणयुक्त औषधि र सुत्केरी मालिसका तेल उपलब्ध गराएको हो । मुक्त कमैया र सुकुम्बासी बस्तीका सुत्केरी महिला स–साना शिशु काखमा लिएर अण्डा बुझ्न वडा कार्यालयमा सहभागी थिए ।

“एक छाक खान पनि धौ–धौ हुने समुदायमा एक क्यारेट अण्डा ठूलो सहयोग भएको सुत्केरी आमाहरुको भनाई छ ।” सोही अवसरमा वडाका नागरिकलाई स्वास्थ्य सेवाको गुणस्तरमा योगदान र्पुर्याएको भन्दै बढैयाताल ९ नम्बर वडाका आधारभूत स्वास्थ्य केन्द्र शक्तिनगरका कर्मचारी र महिला स्वास्थ्य स्वयं सेविकालाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । वडाले दिएको जानकारी अनुसार स्वास्थ्य केन्द्रका प्रमुख अनुपसिंह थारू, स्वास्थ्यकर्मी सुशीला सुनार र महिला स्वास्थ्य स्वयंसेविका सम्मानीत हुनु भएको छ । 

वडा अध्यक्ष बिरबहादुर थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, जमुनी आयुर्वेद औषधालयका प्रमुख नवीन चौधरी, स्वास्थ्य शाखा बढैयातालकी प्रतिनिधि बरिष्ठ नर्स दिपा रिजाल लगायतले मातृशिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भएको छ । गर्भावस्था देखि सुत्केरी हुँदा सम्मको अवधिमा कुनै पनि महिलाले सेवाबाट वञ्चित नहुन स्थानीय सरकार र स्वास्थ्य शाखाले पहल गर्नुपर्ने आवाज उठेको छ । 

वडाका १७ बालबालिका कुपोषित भएर स्वास्थ्य केन्द्रको निगरानीमा रहेको आधारभुत स्वास्थ्य केन्द्र शक्तिनगरले जनाएको छ । गर्भावस्थामा पोषिलो खानेकुरा नपाउँदा शिशुको शारीरिक र बौद्धिक विकासमा ढिलाइ हुने भएकाले नियमित पोषण सुनिश्चित गर्नु अत्यावश्यक भएको  वक्ताहरूले  धारणा राखे । वक्ताहरूले अब कुनै पनि बालबालिका कुपोषणको सिकार हुन नदिन सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments