• २ पुष २०८२, बुधवार
  • १७ °C काठमाडौं
गुरुकुल संचालनार्थ श्रीलक्ष्मीनारायण मन्दिर गुलरियामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ

यादव आचार्य, २१ कार्तिक, गुलरिया (बर्दिया) । आध्यात्मिक चिन्तनको माध्यमबाट मानवजातीमा सद्भाव, सत्चरित्र, भगवत भक्ति, सेवा निष्ठा लगायतका मानविय गुणहरुको अभिबृद्धिसहित राष्ट्र शान्ति, धर्म संस्कार एवम् सँस्कृतिको संरक्षणगर्दै श्रीलक्ष्मी नारायणको जिर्ण रहेको मूल मन्दिर निर्माण, गुरुकुल संचालन एवम् समग्र मन्दिर ब्यवस्थापनका लागि अक्षयकोष स्थापनार्थ बर्दियाको गुलरिया स्थित तोताद्रि मठमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ एवं धनधान्याचल हुने भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कृष्णसार क्षेत्रमा २०३५ सालमा श्री लक्ष्मीनारायण मन्दिरको स्थापना भएको थियो ।

तोताद्रि मठ परिसरमा श्रीमत्परमहंस परिव्राजकाचार्य अनन्त विभूषित तोताद्रि यतिराज रामानुज जीयर स्वामीजीको पावन सान्निध्य, श्रीवैष्णव परिषद नेपालका केन्द्रीय अध्यक्ष आवाल ब्रम्हचारी अनन्तश्री विभूषित १००८ स्वामी देवराजाचार्यको समुपस्थिती, सकल पौरस्त्य वाङ्मयका अद्वितिय विशिष्ठ विद्वान श्रीवैङ्कटेश मन्दिर काठमांडौका उत्तराधिकारी, नेपाल माताका वरद पुत्र श्रीमद्वेदमार्ग प्रतिष्ठापनाचार्य उभयवेदान्त प्रर्वतकाचार्य अनन्त श्री विभूषित डाक्टर पुरुषोत्तमाचार्य स्वामीजी महाराजको प्रमुख वाचकत्व एवम् पंडीत श्रीविष्णु प्रपन्न कट्टेलको उपवाचकत्व, श्री निवासाचार्यको यज्ञाचार्यकत्व तथा देश विदेशका मठाधिश स्वामीजीहरु तथा विशिष्ठ विद्वानहरुको समुपस्थितीमा ज्ञान महायज्ञ एवं धनधान्याचल ०८२ आयोजना गरिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक स्वामी नारायण प्रपन्नाचार्यले बताउनु भएको छ ।

उहाँका अनुसार कार्तिक २२ गते आईतवारदेखि शुरु हुने महायज्ञको सोही दिन विहान ८ बजे कलश शोभायात्रा, ११ बजे महायज्ञ उद्घाटन एवं पूर्वाङ्ग कर्म हुनेछ । कार्तिक २३ गतेदेखि २९ गते सम्म नित्य दिन विहान ५ बजेदेखि ७  बजेसम्म सुप्रभात, स्वस्तीवाचन एवं मण्डप पूजा आराधना, तत्पश्चात १२ बजेसम्म पाठपारायण लगत्तै ४ बजेसम्म सङ्गीतमय कथाप्रवचन हुनेछ । बेलुकी ७ बजेदेखि राती १० बजेसम्म श्रीमद्भागवत महात्म्य तथा राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन किर्तन एवं झाँकी प्रर्दशन हुने उहाँले जानकारी दिनुभयो । कार्तिक २२ गतेदेखि शुरु भएको महायज्ञ ३० गते सकिने छ । अन्तिम दिन तुलसी अर्चना, पूर्णाहुती, यज्ञ समापन समारोहसँगै भण्डारा हुन्छ ।

संयोजक प्रपन्नाचार्यले थप्नुभयो, महायज्ञमा दैनिक नित्य कार्यक्रम बाहेक ब्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन, ग्रह शान्ति, महालक्ष्मी पूजन, तुलादान, तुलसी अर्चना ब्राम्हण आचार्य भेजनको समेत कार्यक्रमहरु तय गरिएको छ । उपरोक्त कार्यहरुमा सहयोग गर्न ईच्छुक भक्तहरुले सचिवालयमा सम्पर्क गर्न सकिने छ । उहाँले कृष्णसार क्षेत्रमा आयोजित महायज्ञमा सम्पूर्ण सनातन समुदायका परिवारहरु सहभागी भई कायिक, बाचिक, मानसिक एवं आर्थिक सहयोगगर्दै भक्तिरुपी कथाको रसपान गरी भक्तीभाव जागृतगर्दै सनातन धर्म संरक्षणको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments