• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा

दलबहादुर सुनार, ११ कार्तिक, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका–२ सितापुरका युवाहरूले खेलेको देउसी–भैलो कार्यक्रममा संकलित रकम नवदुर्गा भवानी मन्दिर निर्माणमा सहयोग गर्ने भएका छन् । युवाहरुले नव–निर्मित भवन निर्माण सहयोगार्थ देउसी–भैलोबाट संकलित रकम मन्दिरमा सहयोग गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत घोषणा गरेका छन् । 

कार्यक्रमका संयोजक ज्ञान प्रसाद बगालका अनुसार देउसी–भैलोबाट कुल २ लाख ४१ हजार ३११ रुपैया संकलन भएको छ । जसमध्ये २० हजार ६ सय रुपैया खर्च भएपछि बाँकी २ लाख २० हजार ७ सय ११ रुपैया मन्दिर निर्माणमा सहयोग गरिने छ । गत कार्तिक ५ गते, भाइटिकाको अघिल्लो दिन, सितापुरका २ सय ११ घरमा देउसी–भैलो खेलेर एकै दिनमा दुई लाखभन्दा बढी रकम संकलन भएको थियो । आगामी वर्ष दुई वा तीन दिन समूह बनाएर भैलो खेल्ने र त्यसबाट उठ्ने रकम सामाजिक कार्यमा प्रयोग गर्ने योजना रहेको संयोजक बगालले बताउनु भयो ।

त्यस्तै, लक्ष्मी तिवारीको नेतृत्वमा रहेको समूहले प्राप्त रकममध्ये १० हजार रुपैया मन्दिरमा सहयोग गरेको छ भने, अर्का युवा मानबहादुर घर्ति मगरले देउसी–भैलोबाट प्राप्त रकमबाट सितापुर–गौघाट जोड्ने सडकका २० पोलमा बल्ब जडान गर्ने निर्णय भएको बताउनु भयो । मन्दिर समितिका सचिव ठाकुर प्रसाद पौडेलका अनुसार २०२९ सालमा स्थानीय पहलमा नवदुर्गा भगवती मन्दिर स्थापना गरिएको थियो । 

मन्दिरलाई नमुना मन्दिरका रूपमा विकास गर्न २०८१ मंसिर २९ देखि पौष ७ गतेसम्म महायज्ञ सञ्चालन गरी खर्च कटाएर २४ लाख रुपैया बचत समेत गरिएको थियो । हाल निर्माणाधीन पाँचतले मन्दिरको अनुमानित लागत ४६ लाख रुपैया रहेको र मन्दिरको जग्गा ५ कठ्ठामा फैलिएको सचिव पौडेलले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष डिलादेव गिरीले युवाहरूको जोस र सामुदायिक एकताबाट संकलित रकम मन्दिर निर्माणजस्तो पवित्र कार्यमा खर्च गर्न लागेकोमा प्रसंसा गर्नुभयो । 

अधुरो मन्दिर निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । मन्दिर समितिका उपाध्यक्ष पार्वती बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राम सिंङ ठकुरी, समाजसेवी ज्ञान प्रसाद न्यौपाने, लाल प्रसाद घिमिरे, नारायण प्रसाद पौडेल लगायतले देउसी–भैलो समूहको प्रशंसा गर्दै मन्दिरलाई क्षेत्रकै नमुना मन्दिर बनाउन वडा, पालिका र स्थानीयवासीको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments