• ३ वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
सावधानी नअपनाउँदा बहिरोपन

प्रभात सुवेदी, ११ कात्तिक, बर्दिया । समुदाय स्तरमा कान सम्बन्धी उपचार सेवा पुर्याउने उद्देश्यले वि.एन. कम्युनिटी इयर केयरद्वारा सञ्चालित वि.एन. अस्पताल गणेशमानचोक नेपालगन्ज बाँकेले गुलरिया नगर पालिकासँगको समन्वय तथा सामुदायिक सेवा फाउन्डेसन नेपाल तथा वेलनेस समाचारपत्र बर्दियासँगको सहकार्यमा शनिवार वेलनेस समाचारपत्रको कार्यालय सिर्जनाटोलमा १ दिने निःशुल्क प्राथमिक कान उपचार तथा कान अप्रेसन छनोट शिविर सम्पन्न गरेको छ । 

सामुदायिक सेवा फाउन्डेसन नेपालका अध्यक्ष तथा वरिष्ठ कान स्वास्थ्य अधिकृत दिपक बहादुर बि. सी.ले असावधानी र हेलचक्य्राईका कारण धेरैजसोमा कानको समस्या देखिने गरेको बताउनु भएको छ । विशेष गरी बाल्यावस्थामा आमाको दूध पान गराउँदा कानमा दूध पर्ने तथा नुहाउँदा पानी पर्ने हुनाले धेरैजसो कान पाक्ने समस्या देखिने गरेको छ । उहाँले भन्नुभयो, कानमा जमेको फोहोर निकाल्न कन्कर्नो, सिन्का तथा अन्य कुनै तिखो बस्तुको प्रयोगले पनि कानमा घाउ हुने र जसका कारण सङ्क्रमण हुन गई धेरैजसोमा कानको समस्या देखा पर्ने गर्छ । 

समुदाय स्तरमा यसका बारेमा जनचेतनाको कमी हुनुका साथै रुघाखोकी लागेको समयमा सावधानी नअपनाउँदा पनि कान सम्बन्धी समस्या देखा पर्ने भएकाले समयमै उपचार नगराउँदा बहिरोपनको समस्या हुने गरेको उहाले प्रष्ट्याउनु भयो । शिवरमा आएका सेवाग्राहीमध्ये कान पाकेर निरन्तर दुःख पाएकाहरु ले अप्रेसनका लागि सल्लाह लिन आएका थिए । शिविरमा बर्दिया जिल्लाका विभिन्न स्थानबाट आएका जम्मा १ सय ३३ जनाको कान परीक्षण गरिएको छ । 

जसमध्ये ३० जनालाई शल्यक्रियाका लागि छनोट गरिएको र १० जनाका लागि श्रवण यन्त्र प्रयोगका लागि सुझाव दिइएको सामुदायिक सेवा फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कान स्वास्थ्य अधिकृत वि. सी.ले जानकारी दिनुभयो ।  शिविरमा वि. एन. अस्पताल गणेशमान चोक नेपालगन्जका प्रवन्ध निर्देशक तथा वरिष्ठ कान अधिकृत राम बहादुर बोहोरा र अस्पतालका प्राविधिकहरुले सेवा प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments