जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा दिपावलीसँगै छठ पर्व शान्तिपूर्ण ढंगले मनाउन आग्रह
केशव कोईराला, ३१ असोज, बर्दिया । दिपावली तथा छठ जस्ता चाडपर्वहरू मर्यादित र शान्तिपूर्ण ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी बिमल गुरुङले सार्वजनिक सूचना जारीगर्दै चाडपर्वको अवसरमा होहल्ला, पटका, भुइँचम्पा, जथाभावी आतिसबाजी तथा जुवातासजस्ता गतिविधि नगरी शान्त र सभ्य तरिकाले पर्व मनाउन सबैलाई अनुरोध गर्नु भएको छ ।
सूचनामा भनिएको छ, “धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्दै चाडपर्वलाई उत्सवको रूपमा मनाइए पनि त्यस क्रममा जनजीवनमा असजिलो, त्रास र अशान्ति सृजना हुने कार्य नगर्नु सबैको जिम्मेवारी हो ।” जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला सुरक्षालाई सुदृढ बनाउनका लागि प्रहरी प्रशासनसँग सहकार्यमा निगरानी र चेकजाँच कडा पारिने जनाएको छ । कानून विपरीतका गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
सूचना अधिकारी गुरुङले जिल्लाबासीलाई सन्देश दिँदै भन्नुभयो “दिपावली प्रकाश र आनन्दको पर्व हो । यसलाई मर्यादित, सभ्य र सुरक्षित ढंगले मनाउँदा मात्र यसको वास्तविक मर्म पूरा हुन्छ ।” यसअघि पनि जिल्ला प्रशासनले बिभिन्न चाडपर्वका समयमा शान्ति सुरक्षा र जनसुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता निर्देशन जारी गर्दै आएको छ ।
२६ °C काठमाडौं
Facebook Comments