• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
विश्व हात धुने दिवसका अवसरमा मधुवनमा सचेतनात्मक अन्तरक्रिया

सविना सापकोटा, ३० असोज, मधुवन (बर्दिया) । मानिसलाई सर्वप्रथम व्यक्तिगत सरसफाईमा ध्यान दिन अति आवश्यक हुन्छ । कुनैपनि फोहर बस्तु छोएपछि, खाना खाइ सकेपछि वा खानु अघि राम्ररी मिचिमिची हात धुने बानीको विकास हुनु आवश्यक छ । यसै विषयलाई मध्यनजर गर्दै बुधबार विश्वभर हात धुने दिवस मनाइएको छ । नेपालमा समेत यो दिवस मनाइने गरिन्छ ।  

दिवसकै अवसरमा बर्दियाको मधुबन नगरपालिकामा “हात धुने हिरो बनौं” भन्ने मूल नाराका साथ अन्तरक्रिया गरिएको छ । बेस बर्दियाद्वारा संचालित वास गेन्स् परियोजनाको सहयोगमा सरसफाइको महत्व, सही हात धुने तरिका र समुदायमा सरसफाइ संस्कृतिको प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरिएको छ । सहभागीलाई व्यक्तिगत सरसफाइ, विद्यालय र घरमा सफाइ कायम राख्ने तरिका तथा समुदाय स्तरमा सरसफाइको संस्कार विकास बारे प्रकाश पारिएको थियो । 

मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले सरसफाइले स्वास्थ्यमा पर्ने प्रत्यक्ष प्रभावबारे जानकारी दिंदै हात धुने संस्कृतिलाई दैनिक जीवनको अभिन्न अंग बनाउनु पर्नेमा जोड दिनुभयो । नगर उपप्रमुख अनिता चौधरीले विद्यालय र घर दुबै स्थानमा सरसफाइको अभ्यासले बालबालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । हात धुने अभ्यासलाई व्यवहारिक रूपमा अपनाउने प्रेरणा मिलेको सहभागीहरूले प्रतिक्रिया दिएका छन । 

परियोजनाले सामुदायिक सरसफाइ र स्वास्थ्य सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, वडा अध्यक्षहरू, किशोरी क्लब र बाल क्लबका सदस्यहरूको सक्रिय सहभागीता थियो । सहभागीहरूले हात सरसफाइ सम्बन्धी विभिन्न प्रश्नहरू राखी विशेषज्ञहरूबाट उत्तर प्राप्त गरेका थिए । “सफा हात, स्वस्थ जीवन” भन्ने प्रतिज्ञा गर्दै सरसफाइ र स्वास्थ्यका लागि सामूहिक प्रतिबद्धता सहभागीहरुले व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments