• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
गेरुवा गाउँपालिकाको बनघुस्रामा कर्णाली नदीको कटान

केशव कोईराला, १७ भदौ, राजापुर (बर्दिया) । कर्णाली नदीमा आएको बाढीले गेरूवा गाउँपालिका वडा नम्बर २ स्थित बनघुस्राको शिव मन्दिर नजिकको क्षेत्र कटान गरेको छ । सो क्षेत्रमा नदीले कटान शुरु गरेसँगै अस्थायी तटबन्ध निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

स्थानीय बासिन्दाको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, तथा पाताभार जल उपभोक्ता संस्थाको समन्वयमा बनघुस्रा, टीकुलीगढ, भैरमपुर गाउँका स्थानीयको सक्रियतामा तटबन्ध निर्माण भइरहेको हो । कटानको जोखिम बढेपछि नदीको धार परिवर्तन हुने सम्भावनालाई ध्यानमा राख्दै तत्कालै ढुंगा, बालुवा र बोराको प्रयोग गरी नदी किनारामा अस्थायी तटबन्ध बनाउने काम सुरु गरिएको छ ।

स्थानीय वासिन्दा मैया चौधरीका अनुसार, “यदि यस्तै कटान रोक्न सकिएन भने नजिकैको बस्ती जोखिममा पर्नेछ । समयमै सुरक्षाका उपायहरू थालिएकोमा हामी राहत महशुस गरिरहेका छौं ।” यस कार्यमा पाताभार कुलो अन्तर्गतका किसान, उपभोक्ता समूहका सदस्य, युवाहरू लगायत स्वयंसेवकहरूले समेत स्वैच्छिक श्रमदान गरिरहेका छन् । सुरक्षा निकायहरूले जोखिम क्षेत्रको निगरानी बढाउँदै स्थानीयहरूलाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments