जोखिमपूर्ण यात्रामा रहेका २ सय ८२ जनालाई सिमाबाट उद्धार
मुरली गोडिया, १६ भदौ, गुलरिया (बर्दिया) । माइती नेपाल बर्दियाले आर्थिक बर्ष ०८१/८२ मा जोखिमपूर्ण यात्रामा रहेका २ सय ८२ जनालाई सीमाबाट उद्धार गरेको छ । आइतबार माइती नेपाल बर्दियाले गरेको सामाजिक परिक्षण कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।
माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार भारत–नेपाल सीमा क्षेत्रबाट २ सय ८२ जनाको उद्धार, ३ सय ४ जनालाई संरक्षण सेवामा राखिएको, २ जनालाई भारतबाट सुरक्षित रूपमा नेपाल ल्याइएको, मानव बेचबिखन सम्बन्धी ३ वटा मुद्धा दर्ता भई कार्यान्वयनको प्रक्रियामा रहेको बताउनु भयो । माइती नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जबर्जस्ती करणी सम्बन्धी २० वटा मुद्दामा कानुनी सहयोग प्रदान गरिएको छ ।
२० जनालाई संरक्षण सहित कानुनी सेवा उपलब्ध गराइएको, घरेलु हिंसाका ४६ घटना मध्ये ४५ वटा समाधान गरिएको छ । ५९ जना हराएको उजुरी परेकोमा हाल सम्म ११ जना फेला परेका छन् । तथ्यांक अनुसार सीमा क्षेत्रमा ८२ जनालाई परामर्श प्रदान गरि उनिहरुलाई घर पठाइएको छ । मानव बेचबिखन तथा सुरक्षित बसाइ–सराई सम्बन्धी जनचेतनात्मक रुपमा १९ हजार ७ सय २५ जनालाई सचेत पारिएको संयोजक रिमालले प्रष्ट्याउनु भयो ।
माइती नेपालले जिल्लामा गुलरिया नगरपालिकाको सुरजपुर, बढैयाताल गाउँपालिकाको बलैगाउँ र मधुवन नगरपालिकाको शक्तिपुर नाकामा सुचना केन्द्र स्थापना गरि कार्यगर्दैै आएको छ । कार्यक्रमका प्रमुख अतिथी बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मानव बेचविखन विरुद्धको अभियानमा नागरिकको सहयोग अपरिहार्य रहेको औल्याउनु भयो ।
२६ °C काठमाडौं
Facebook Comments