सशस्त्र द्वन्दमा वेपत्ता नागरिकहरुको सम्झनामा वृक्षारोपण
विष्णु अधिकारी, १४ भाद्र, बर्दिया । बर्दिया सशस्त्र द्वन्दमा सबैभन्दा बढी बेपत्ता भएको जिल्ला मानिन्छ । बर्दियामा द्वन्दका क्रममा २ सय ५८ जना वेपत्ता भएका थिए । बलपूर्वक वेपत्ता विरुद्धको १५ औं अन्तर्राष्ट्रिय दिवस पारेर द्वन्दमा वेपत्ता भएका नागरिकको सम्झनामा बारबर्दिया नगरपालिका वडा नम्बर १० स्थित सेमरहवा, बर्दियामा रहेको कुम्भर अड्डा वेपत्ता योद्धा स्मृति पार्कमा बेपत्ता ब्यक्तिहरुको स्मरणमा बृक्षारोपणगर्दै मनाईको छ ।
बर्दियामा वेपत्ता भएका २ सय ५८ जनाको सम्झनामा २ सय ५८ विरुवा वृक्षारोपण गरी देशभरिका १३ सय ५० वेपत्ता नागरिकको सम्झनामा बनेको स्तम्भमा दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा वेपत्ता सम्बन्धि अन्तराष्ट्रिय महासन्धि अनुमोदन गर, बलपूर्वक वेपत्ता पारिएको नागरिकको स्थिती सार्वजनिक गर्नुपर्ने वेपत्ता परिवारहरुले राज्यसँग माग गरेका छन् । वेपत्ता नागरिकका आफन्तले आत्म सम्मान सहितको परिपूरण सुनिश्चित गरी, राज्य नियन्त्रित अपारदर्शी आयोगको विकल्पमा पिडित केन्द्रित आयोग बनाउनु पर्ने माग राखेका छन् ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले वेपत्ता भएका नागरिकहरुका आफन्तले काजकिरिया कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेको र राज्यबाट पाउने सेवा सुविधाबाट पनि बन्चित भएको बताउनु भएको छ । वेपत्ता नागरिकका आफन्तले नगर प्रमुख भएको नाताले हामी काजकिरिया के गरौं भन्ने कुरा सोध्ने गरेकाले आफुसँग त्यसको जवाफ नरहेको उहाँले औल्याउनु भयो । राज्यले गठन गरेको वेपत्ता आयोगले चाडोभन्दा चाडो वेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न ढिला नगरि जुन अवस्थामा छ त्यसको सत्यतथ्य जानकारी दिनुपर्ने नगर प्रमुख थारुले माग गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार थारुले हामी जुन जगमा उभिएका छौं त्यो जग निर्माण गर्नेहरुको सम्झनामा उनीहरुको योगदानलाई विर्सन नहुने तर्क गर्नुभयो । द्वन्दमा वेपत्ता भएका व्यक्तिका परिवारका सदस्यहरुलाई आफ्ना प्रियजन फर्केर आउँछन् कि भन्ने आशा बोकेका कारण उनिहरुको अवस्था सार्वजनिक गर्न ढिलाइ गर्न नहुने प्रदेश सभा सदस्य थारुले दोहोर्याउनु भयो । कुम्भर अड्डा वेपत्ता योद्धा स्मृति पार्कका अध्यक्ष निरन्जन कुमार चौधरीले पार्कमा प्रियजनको सम्झना र सम्मानमा वेपत्तालाई कहिल्यै विर्सन नदिने जीवित स्मारकहरु पार्क रहेको बताउनु भयो ।
देशभरिका वेपत्ता पारिएका व्यक्तिहरुको नाम अटाउने १३ वटा भित्ता निर्माण गरिएकाले यो पार्कलाई देश तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने उहाँको भनाई छ । स्मृति संग्रहालयमा हालसम्म वेपत्ता भएका ६८ जना व्यक्तिको कपडा, नोटबुक, औजारहरु सुरक्षित रहेकाले सामानहरुले न्यायको अभियानलाई बल दिने अध्यक्ष चौधरीले विस्वास ब्यक्त गर्नुभयो । कुम्भर अड्डालाई पहिले कुमाल बस्ती र तत्कालिन जिल्ला सदरमुकामको रुपमा रहेको थियो ।
त्यस स्थानबाट सदरमुकाम सारिएपछि विस्तारै जंगलमा परिणत भई अहिले सामुदायिक वन वनेको छ । द्वन्दको समयमा वेपत्ता वनाइएका व्यक्तिका परिवारहरु त्यस ठाउँमा भेट्ने दुःख साट्ने र छलफल गर्ने थलो बनेको अध्यक्ष चौधरीले प्रष्ट्याउनु भयो । यहि स्थानलाई वेपत्ता व्यक्तिको सम्झनामा स्मृति स्थल बनाउने सोच लिएर यस पार्कको स्थापना भएको हो । पार्क द्वन्दमा वेपत्ता भएका व्यक्ति र तिनका परिवारहरुको जीवन र संघर्षलाई सम्झाउने तथा पिडितको सम्मान गर्न राष्ट्रिय स्मृतिको स्थल बनेको छ ।
२६ °C काठमाडौं
Facebook Comments