माग सम्बोधन नभए कडा आन्दोलन गर्ने नेपाल शिक्षक महासंघ बढैयातालको चेतावनी
दलबहादुर सुनार, १४ भदौ, बढैयाताल (बर्दिया) । नेपाल शिक्षक महासङ्घ बढैयातालले शिक्षक हकहितका माग तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रबार बढैयाताल गाउँपालिका अध्यक्ष मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासङ्घले सरकारलाई कडा चेतावनी दिएको हो ।
नेपाल शिक्षक महासङ्घ बढैयातालले नेपाल शिक्षक महासङ्घ केन्द्रको सर्कुलर अनुसार दरबन्दी, स्थायीकरण, सेवासुविधा र पदपूर्तिका समस्या तत्काल समाधान गर्न आग्रह सहितको शिक्षक हकहित सम्बन्धी विभिन्न माग राख्दै शुक्रबार नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घ र नेपाल सरकार बिच विगतमा भएका सम्झौताको उल्लंघन भएको भन्दै देशव्यापी रूपमा भएको विरोधका कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासङ्घ बढैयातालद्वारा सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
पालिका अध्यक्ष हिमालय त्रिपाठीको कार्यकक्षमा भएको महासङ्घको ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अन्तर्गतका प्रावि, आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता थियो । महासङ्घले अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी नियुक्ति दिनुपर्ने, शिक्षक सेवा र पदपूर्तिमा देखिएका समस्या समाधान गर्नुपर्ने, पुनःस्थापित शिक्षकलाई बाहिर राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने लगायतका माग राखेको छ । साथै, विद्यालय कर्मचारीलाई सेवा सुविधा दिलाउनुपर्ने, शिक्षक दरबन्दी तथा बढुवामा देखिएका अन्यायपूर्ण अभ्यासलाई सच्याउनुपर्नेमा जोड दिएको छ ।
ध्यानाकर्षण पत्रमा राष्ट्रिय शिक्षा नीति बमोजिम शिक्षक, कर्मचारीमैत्री व्यवस्था बनाउनुपर्ने उल्लेख छ । आफ्ना मागहरू तत्काल सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी पनि दिइएको छ । नेपाल शिक्षक महासङ्घ बढैयातालका अध्यक्ष राजेश्वर थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारले विगतमा गरेको सम्झौता बमोजिमका कार्यक्रम लागु नभएमा कडा आन्दोलन गर्ने समेत उल्लेख गरिएको छ ।
२९ °C काठमाडौं
Facebook Comments