• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बाँसगढीमा आयोजित अन्तरमाध्यमिक विद्यालय स्तरिय बक्तृत्वकलामा निशा अधिकारी प्रथम

विन्दु चौधरी, १३ भदौ, बाँसगढी (बर्दिया) । सामुदायिक पुस्तकालय दिवसको अवसरमा आयोजना गरिएको ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा बाँसगढी युनाइटेड पब्लिक स्कुलकी छात्रा निशा अधिकारी प्रथम भएकी छन् । नेरा माध्यमिक विद्यालय बाँसगढीका छात्र विवेक परियार द्वितीय, नेरा मावि लक्षमणपुरकी छात्रा वर्षा तिवारी तृतीय र जीवनज्योती मावि राझाकी छात्रा कोशिका गुरुङ सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

कार्यक्रममा विजयी विद्यार्थीहरुलाई प्रमाणपत्रसहित क्रमशः नगद एक हजार दुई सय, एक हजार ८ सय र ६ सय पुरस्कार प्रदान गरिएको थियो । बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको प्रतियोगिता पुस्तकालयका अध्यक्ष वलराम भुजेलको अध्यक्षता तथा बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । निर्णायक समितीका संयोजक बाँसगढी नगर शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी र सदस्य इश्वरी रिजाल रहनु भएको थियो । प्रतियोगितामा बाँसगढी नगरपालिकाभित्रका ९ वटा विद्यालयका १९ जना विद्यार्थी सहभागि भएका थिए । 

नेरा मावि बाँसगढीबाट जानकी बुढाक्षेत्री र विवेक परियार, जनप्रिय मावि दमौलीबाट सौगात भुजेल, जीवनज्योती मावि राँझाबाट कोशिका गुरुङ र चित्र बहादुर डाँगी, लालीगुराँस मावि माछागढबाट रिता रावत र सन्देश रोकाया, पूर्णहिरा मावि लक्षमणाबाट विनिता सुनार र विवेक चालागाई, बाँसगढी युनाइटेड पब्लिक स्कुलबाट निशा अधिकारी र नविन रावल, नेरा मावि लक्षमणपुरबाट वर्षा तिवारी र नक्ष उपाध्याय, बाँसगढी एकेडेमीबाट अनिसा बिसी र सिद्धार्थ सुवेदी, बालज्योती एकेडेमी ककौराबाट आराध्या अधिकारी र सुजन खडका, त्रिभुवन मावि ककौराबाट सलिना राणा तथा पृथ्वी मावि लखनाबाट रोजी विष्टले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा विद्यार्थीहरूले पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा मात्र नभई भविष्य निर्माणको आधारका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले पुस्तकालयले विद्यार्थीलाई अध्ययन, अनुसन्धान, सिर्जनशीलता र नेतृत्व क्षमतामा जोड दिने भएकाले सामुदायिक पुस्तकालयलाई निरन्तर मजबुत बनाउनुपर्ने भूमिकाबारे आआफ्ना विचार राखेका थिए । कार्यक्रममा नगरप्रमुख खडक बहादुर खडकाले पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले अहिलेको डिजिटल युगमा पुस्तकालयले केवल किताब पढ्ने ठाउँ मात्र नभई विचार आदानप्रदान, सूचना पहुँच र सामाजिक चेतनाको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो । 

“पुस्तकालयले विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायलाई मार्गदर्शन गर्ने आधारशिला बन्न सक्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष वलराम भुजेलले पुस्तकालय दिवसलाई अवसर बनाएर विद्यार्थीहरूबीच प्रतियोगिता गराउन पाएकोमा खुशी व्यक्तगर्दै पुस्तकालयलाई सक्रिय बनाउन स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक पुस्तकालयलाई विद्यार्थी, युवा लगाएत सबै उमेर समुहको सीप, क्षमता र नेतृत्व विकास गर्ने केन्द्रका रूपमा प्रवद्र्धन गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा निर्णायक समितीका संयोजक समेत रहनु भएका बाँसगढी नगर शिक्षा शाखा प्रमुख रेग्मीले सहभागी विद्यार्थीहरूको प्रस्तुति सराह्नीय रहेको भन्दै नियमित अध्ययन, वक्तृत्व अभ्यास र पुस्तकालय प्रयोगले विद्यार्थीलाई अनुशासित, सिर्जनशील र ज्ञानसम्पन्न बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दहवा थारु, त्रिभुवन पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, पुस्तकालयका सल्लाहकार बद्धिसागर अधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाको सहभागिता थियो । पुस्तकालयका सचिव प्रेमप्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रमको स्वागत उपाध्यक्ष निता रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments