नवरात्रको अवसरमा मातङ्गी मन्दिर गुलरियामा श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ हुने
चुरेकुञ्ज, १३ भदौ, गुलरिया (बर्दिया) । शरदकालिय नवरात्रको अवसरमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ मा अवस्थित मातङ्गी देवीको मन्दिरमा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिरको सर्वांगिण विकाससँगै हिन्दु जीवनशैलीको शास्त्रीय महत्वलाई अवगत गराई हिन्दुत्व जागरण गर्ने उद्देश्यले मातङ्गी धार्मिक महोत्सव गरिन लागिएको हो ।
महायज्ञ मूल आयोजक समितिको आयोजना हुने ज्ञान महायज्ञमा सुप्रसिद्ध कथावाचक (व्यास) आचार्य पुरुषोत्तम शरण लम्साल कथा ब्यास रहनु हुने मातङ्गी देवी मन्दिरका पुजारी विभुती नारायण ज्ञवालीले जानकारी दिनुभयो । असोज ६ गते घटस्थापनाको दिनदेखि १५ गते महानवमीका दिन सम्म महायज्ञ संचालन हुनेछ । मातङ्गी शास्त्र वर्णित देवी भएको र मन्दिर रहेको क्षेत्र सिद्ध भुमि भएकाले यसको प्रचारप्रसारसँगै प्रर्बद्धन गर्नुपर्ने पुजारी ज्ञवाली वताउनु हुन्छ ।
मन्दिर क्षेत्र हनुमानजी र सबरीका गुरु मतङ्ग ऋषि आएर मात∙ी तन्त्र साधना गरेको भूमि भएकोले मन्दिरलाई दिव्य शक्तिपीठको रुपमा बिकासगर्दै मन्दिर परिसर क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ नवाह ज्ञान महायज्ञ गर्न लागिएको बताईएको छ । महायज्ञलाई सबै मिलि सफल बनाउन मन्दिरका पुजारी ज्ञवालीले सम्पूर्ण सनातनीहरुमा आग्रह गर्नु भएको छ ।
महायज्ञ मूल आयोजक समितिका अनुसार कथाव्यास आचार्य लम्सालको मुखारविन्दबाट श्रीमद्देवी भागवत कथाप्रवचन, राष्ट्रिय कलाकारहरुबाट भजनकिर्तन, झाँकी प्रर्दशन लगायतका कार्यक्रमहरु दैनिक गरिने छ । कार्यक्रम शुभारम्भ हुने घटस्थापनाका दिन असोज ६ गते विहान ११ बजे मन्दिर देखि कलश शोभायात्रा गरिने बताईएको छ । दैनिक कार्यक्रम अन्र्तगत विहान ६ बजेदेखि ११ बजे सम्म बेद, रुद्री, चण्डी र श्रीमद्देवी भागवत मूल पाठ पारायण हुनेछ ।
त्यस्तै दिउँसो १२ बजेदेखि ४ बजे सम्म कथा प्रवचन हुनेछ साथमा कथाको प्रसंग अनुसार झाँकी प्रर्दशन हुनेछ । वेलुकी ७ बजेदेखि १० बजेसम्म भजन किर्तन, झाँकीसहितको धार्मिक प्रर्दशनसँगै सन्ध्याकालमा दिव्य श्रृङ्गारिक महाआरती हुने पुजारी ज्ञवालीले चुरेकुञ्जलाई जानकारी दिनुभयो । धार्मिक महाअभियानलाई सबै मिलि सफल गराउन मन्दिर ब्यवस्थापन समिति, महायज्ञ आयोजक समिति र पूजा समितिले हार्दिक निवेदनगर्दै सम्पूर्ण सनातनी हरुलाई समुपस्थित भई धार्मिक लाभ लिन अनुरोध गरेका छन् ।
२९ °C काठमाडौं
Facebook Comments