बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु
विष्णु अधिकारी, ३१ साउन, बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२, भैसाहीकी ४५ बर्षिया जगतरानी थारुको चितुवाको आक्रमणमा परि मृत्यु भएको छ ।
शुक्रवार घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको धान खेतमा घाँस गोडी रहेको समयमा चितुवाले आक्रमण गरेको हो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि करिब १ सय मिटरको दुरीमा रहेको उखु बारीमा पुर्याएको छ । थारुको शव क्षतविक्षत रुपमा मृत अवस्थामा फेला परेको छ । घास गोडिरहेको खेतमा मृतक महिलाको साइकल, बोरीमा घाँस, फरुवा र हँसिया भेटिएको छ । आक्रमण गरेको धानबारीमा दुइ ठाउँमा रगतको टाटो र गोडेको घासँको मुठो देखिएको थियो ।
शनिवार विहान उखुँ बारीमा स्थानीयहरु घाँस काट्न गएको समयमा महिलाको शव देखेपछि गाउँका अन्य ब्यक्तिहरुलाई खबर गरेका थिए । गुलरिया नगरपालिका वडा नं. ५ मा पनि यस अघि २ जना बालिकालाई चितुवाको आक्रमणमा परि ज्यान गुमाई सकेका छन् भने २ जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । घटनास्थल गुलरिया नगरपालिका वडा नं. १२ र वडा नं. ५ को सिमाना जोडिएको छ ।
गाउँलेहरुले पटक पटक सम्बन्धित निकायलाई चितुवा देखिएकाले नियन्त्रणका लागि आग्रह गर्दा कुनै किसिमको सुनुवाई नगरेको आरोप लगाएका छन् । मृतकका श्रीमान रामलखन थारु रोजगारीका लागि जुम्लामा रहेको र जेठो छोरा विकास थारु पोखरामा काम गर्न गएको छिमेकी चम्पा थारुले बताउनु भयो । गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले डिभिजन वन कार्यालयले आफ्नो काम र जिम्मेवारीको बोध नहुँदा यस्तो घटना घटेकोभन्दै रोष प्रकट गर्नुभयो ।
वन मन्त्रालय, वन विभागले यदि काम गर्न नसक्ने भए नेपाल सरकारले स्थानीय सरकारको जिम्मामा दिनुपर्ने उहाँको भनाई छ । गुलरिया नगरपालिकाका नागरिकहरु पटक पटक जंगली जनावरको आक्रमण परिरहेको प्रति दुख ब्यक्त गर्दै डिभिजन वन कार्यालयको काम प्रति रोष प्रकट गरेका छन् । बर्दिया प्रहरीले घटनाको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल पुर्याएको छ ।
२९ °C काठमाडौं
Facebook Comments