थारु समुदायमा अस्टिम्की पर्वको रौनक बढ्दै
केशव कोईराला, २६ साउन, बर्दिया । थारु समुदायका महिलाले विशेष पर्वको रुपमा मनाउँदै आएको अस्टिम्की पर्व आउन पाँच दिन बाँकी रहेपनि थारु गाउँमा अहिलेदेखि अस्टिम्की पर्वको रौनक बढ्दै गएको छ । हरेक बर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउँदै आएको अस्टिम्की यस बर्ष साउन ३१ गते परेको छ ।
अस्टिम्की नजिकिदै गर्दा थारु गाउँमा अस्टिम्कीको चहलपहल बढेको हो । अस्टिम्कीलाई उत्साह पर्वको रुपमा मनाउन घरआँगन सरसफाइ तथा घरलिपपोत भइरहेको राजापुर नगरपालिका ४ दलैकि सीता चौधरीले बताउनुभयो । यस्तै, पात टिप्ने, दुना टपरी लगाउने, अस्टिम्कीमा चाहिने सामग्री जुटाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । अस्टिम्कीमा पूजा गर्ने पूजापाठको किनमेल, नयाँ लुगा सिलाउने लगायत तयारीमा अहिले थारु महिला जुटेको उहाँले चुरेकुञ्जलाई बताउनुभयो । उहाँका अनुसार थारु समुदायका महिलाहरुले दुई दिनसम्म उल्लासमय र धुमधामका साथ अष्टिम्की मनाउँदै आएका छन् ।
अष्टिम्की पर्वलाई थारु महिलाहरुले महान पर्वको रुपमा मनाउने गरेको उहाँँले बताउनुभयो । अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभर केही नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रणमा भित्तेचित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दछन् । अष्टिक्कीको पहिलो दिन अर्थात व्रत बसेको दिन विहानै मटाँवाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनाले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ ।
त्यसैगरी श्रीकृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र बनाइन्छ । यसैगरी दोस्रो लाईनमा पाँच भाइ पाण्डव र सात भाइ कौरबको चित्र कोरिन्छ, उहाँले भन्नुभयो, त्यसको तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’ दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ती, मयुर, सर्प, गाई, लगायत विभिन्न चरा, चुरुंगी र जनावरको चित्र बनाइन्छ । सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने प्रचलन रही आएको छ ।
@सर्बाधिकार चुरेकुञ्ज
२७ °C काठमाडौं
Facebook Comments