• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
थारु समुदायको मौलिकता दस्तावेजीकरण गर्न अध्ययन 

विन्दु चौधरी, २२ साउन, बाँसगढी (बर्दिया) । थारु समुदायको परम्परागत ज्ञान, जीवनशैली र सांस्कृतिक सम्पदाको संरक्षणका लागि विवरण संकलनको काम सम्पन्न भएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ४ र ५ का १० वटा गाउँका थारु समुदायका अगुवा, बरघर, संस्कृतिकर्मी र बुद्धिजीवीहरूसँग अन्तर्वार्ता, छलफल तथा प्रत्यक्ष संवादमार्फत ७ दिनसम्म अध्ययन तथा जानकारी लिइएको छ । 

दस्तावेजीकरणका लागि आवश्यक मौलिक विवरण संकलन गरिएको हो । आदिवासी जनजाति महासंघ पोदोङ पहल अन्तर्गत सञ्चालित कार्यक्रममा समुदायमा आधारित व्यवस्थापन सूचना प्रणाली प्रयोग गरेर बाँसगढी नगरपालिका–४ र ५ मा अध्ययन तथा अनुसन्धान केन्द्रित रहेको थियो । यसअन्तर्गत थारु समुदायको प्रकृतिसँगको जीवनशैली, मौलिक संस्कृति, चाडपर्व, परम्परागत ज्ञान र सीप, भेषभूषा, खेती प्रणाली, सामाजिक व्यवहार लगायतका पक्षको अध्ययन तथा दस्तावेजीकरण गर्न लागिएको हो । 

थारु समुदायको ज्ञानलाई दस्तावेजीकृत गरेर समुदायको अमूल्य सम्पत्तिका रूपमा संरक्षण गर्ने र आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य लिएको आदिवासी जनजाति महासंघका दस्तावेजीकरण अनुसन्धानकर्ता दावा तेन्जी योल्मोले बताउनुभयो । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिका नगर प्रमुख खड्क बहादुर खड्काले थारु समुदायको मौलिक संस्कृति, सीप र ज्ञान राज्यकै गौरव रहेको बताउँदै यसको संरक्षणमा स्थानीय सरकार सदैव सहयोगी रहने बताउनुभयो । उहाँले थारु समुदायको पहिचान जोगाउने र यसको ज्ञानलाई आधुनिक विकाससँग जोड्ने काम अहिलेको आवश्यकता रहेको र  यसलाई लिपिबद्ध गर्ने काम महत्वपुर्ण रहेको बताउनुभयो । 

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष लाक्पा ढोक्पे शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीले परम्परागत ज्ञान गुम्न थालेको बेला यस्तो दस्तावेजीकरण अभियान आवश्यक रहेको बताउँदै आगामी पुस्तालाई आफ्नो संस्कृति बुझ्न मद्दत पुग्ने धारणा राख्नु भयो । त्यसैगरी कार्यक्रममा रेडियो गुर्वावा एफएमका कार्याकारी निर्देशक एंवम अनुसन्धानकर्ता एकराज चौधरीले थारु समुदायका अगुवा, बरघर, संस्कृतिकर्मी र बुद्धिजीवीहरूसँग अन्तर्वार्ता, छलफलमार्फत विवरण संकलनमा सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments