• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
किसानले मल नपाउँदा लगानी डुब्ने चिन्ता

हरि गुरुङ, २० साउन, बर्दिया । बर्दिया जिल्लाका किसानहरू यतिखेर रासायनिक मलको चरम अभाव झेल्दै आएका छन । मानो रोपेर मुरी फलाउने ध्येयमा रहेका उनीहरु मल अभावले उत्पादन घट्नेमा चिन्तित छन् । 

सुरक्षित जिल्लाको रूपमा रहेको बर्दियामा धान, मकै, गहुँ मुख्य खेती रहेको यहाँ नेपालको कुल उत्पादनको ६ प्रतिशत अन्न उत्पादन हुन्छ । रोपाइँ सकिएको एक महिना भित्र धानमा रासायनिक मल छर्नुपर्ने हुन्छ तर धान रोपी सक्दा पनि किसानले रासायनिक मल पाएका छैनन् । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानको माग अनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव झेल्न बाध्य छन् । 

कृषि सामग्री कम्पनी लिमटेड बर्दियाका प्रमुख लालबहादुर थारुका अनुसार १ सय ४८ सहकारी मार्फत रासायनिक मल बिक्री वितरण हुँदै आएको छ । ५० हजार २५० हेक्टर क्षेत्रफलमा खेती हुने बर्दियामा १२ हजार मेट्रिक टन यूरिया र ७ हजार मेट्रिक टन डि.ए.पी. आवश्यक पर्दछ । आर्थिक वर्ष २०८१/२०८२ मात्रै ६ हजार २० मेट्रिक टन यूरिया र ३ हजार ४ सय मेट्रिक टन आयात गरिएकाले रसायनिक मल अभाव भएको उहाँको भनाई छ । 

बर्दियाको गुलरिया नगरपालिका ८३ दशमलव ४८६ मेट्रिक टन, मधुवन नगरपालीका ८३ दशमलव ४३०, ठाकुर बाबा नगरपालिका ६४ दशमलव ९०९, बढैया ताल गाउँ पालिका ७८ दशमलव ०९०, बासगढी नगरपालिका ७७ दशमलव ७५७, बारबर्दिया नगरपालिका ८६ दशमलव ७१२, राजापुर नगरपालिका १ सय ३८ दशमलव ४९४, गेरुवा गाउँ पालिका ७० दशमलव ८०४ कोटा रहेको छ भने जम्मा ६ सय ८३ दशमलव ६८१ मेट्रिक टन रासायनिक मल कोटा रहेको प्रमुख थारुले जानकारी दिनुभयो । 

रासायनिक मल पाउन किसानहरू टन्टलापुर घाममा लाइन बस्न बाध्य भएका छन । लाइन बस्दा पनि मल नपाएको स्थानिय किसान फुलाराम थारुले गुनासो गर्नुभयो । माग अनुसार रासायनिक मल उपलब्ध नहुँदा किसान मर्कामा परेका छन् । सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउन सकेको छैन । रासायनिक मल प्रयाप्त मात्रामा उपलब्ध नभएमा किसान घाटामा जाने साथै ऋणमा समेत डुब्ने अवस्था आएको उहाँको भनाई छ । 

सीमावर्ती क्षेत्रमा अवैध तरिकाले रासायनिक मल भित्रिएपनि किसानले पाउनका लागि विचौलियाको सहारा लिनु परेको अर्का किसान हरिहर चौधरी बताउनु हुन्छ । हरेक वर्ष बर्दिया जिल्लामा रासायनिक मल अभाव हुने गरेको छ । रासायनिक मलको अभाव हटाउन स्थानिय, प्रदेश र संघीय सरकारले मनन गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments