सवारी र्दुघटना नरोकिंदा चुनौती थपिँदै
दलबहादुर सुनार, २० साउन, बर्दिया । बर्दिया जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनाको दर तीव्र रूपमा बढ्दै गएको छ । तीव्र गति, सवारी चालकको लापरवाही र ट्राफिक नियमको उल्लंघन जस्ता कारणले दुर्घटनाको दर तीव्र रुपमा वढ्दै गएको हो ।
जिल्ला ट्राफिक कार्यालय बर्दियाका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ६ सय ९१ सवारी दुर्घटना भएका थिए । जुन पछिल्लो तीन वर्षको तुलनामा ७२ दशमलव ७५ प्रतिशतले बढी हो । ती दुर्घटनामा ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दर्जनौं घाइते भएका छन् । प्रहरीले जनचेतना, नियमित चेकजाँच र निगरानी कार्यलाई तीव्र बनाउँदै आएपनि सवारी दुर्घटनाको संख्या घट्नुको सट्टा थप बढ्दै जानुले पनी नियन्त्रण प्रयासहरू चुनौतीपूर्ण बनेका छन् ।
सवारीसाधन, सडक विस्तार र सवारी संख्या बृद्धि भएसंगै बर्दियामा सवारी दुर्घटनाको जोखिम समेत उत्तिकै बढेको घटनाक्रमले देखाएको छ । चार वर्षको अवधिमा बर्दियामा कूल १ हजार ९१ वटा सवारी दुर्घटना हुँदा १ सय ४३ जनाको ज्यान गएको छ । त्यस्तै ३ सय ५३ जना गम्भीर घाइते र ७ सय ७७ जना सामान्य घाइते भएको तथ्यांक छ । गत आर्थिक वर्षको दुर्घटनामा ३८ जनाको मृत्यु र ७५ जना गम्भीर घाइते भएका छन् ।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना रहेको छ । आर्थिक वर्ष ०८१/८२ मा ३ सय ८९ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै आव ०७८/०७९ देखि ०८१/८२ सम्म जिप ८४, बस ४०, ट्रक ४१, अटो १ सय ७, ट्र्याक्टर ३४ र साइकल १५४ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाको तथ्यांक छ । दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको छ ।
पुराना गाडी, चालकको लापरवाही, तीव्र गति, मापसे, यात्रुको जिद्दी, पैदल यात्री र साइकल चालकले जथाभावी सडक बाटो काट्ने र छाडा चौपायाहरूको कारण नै सडक दुर्घटना नियन्त्रणमा चुनैती बन्दै गएको बताइएको छ । ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरिक्षक सुधिरकुमार खड्काले दुर्घटना न्यूनिकरणका लागि यात्रु र चालक दुवै अनुशासित हुन जरुरी रहेको बताउनु भयो ।
२७ °C काठमाडौं
Facebook Comments