सर्पदम्स तथा गुरुवा झारफुक समितिद्वारा राजापुरमा मनाईयो नागपञ्चमी
पुरुषोत्तम खनाल, १४ साउन, बर्दिया । बर्दियाको राजापुरमा हर्षोल्लासका साथ नागपञ्चमी तथा थारु जातिको गुरिया पर्व मनाईएको छ । बर्दियाको राजापुर ३ मुरैयामा रहेको जीवन उद्धार सर्पदम्स तथा गुरुवा झारफुक प्राथमिक उपचार समितिले विशेष कार्यक्रम सहित नागपञ्चमी तथा गुरिया पर्व मनाएको हो ।
समितिका अध्यक्ष कुलराम थारुको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य आशा दहित प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतिथिमा गाउँका बडघरहरु धनीराम थारु, शिखा एग्रोभेट सेन्टरका सञ्चालक प्रोप्राइटर शन्तराम चौधरी रहनु भएको थियो । गुरुवाहरु सहभागी कार्यक्रममा बोल्दै शिखा एग्रोभेट सेन्टरका सञ्चालक प्रोप्राइटर चौधरी र बरघर थारुले राजापुरमा गुरुवाहरुको योगदान महत्वपूर्ण रहेको वताउनु भयो । सर्प लगायतका विषालु जीवको विगविगी रहेको भौरा क्षेत्रमा गुरुवाहरुले धेरै सर्पले टोकेका घाइतेको जीवन उद्धार गरेको बताउनु भयो ।
खबर पाउनासाथ पस्केको भातै छाडेर साँझ विहान घामपानी जाडो गर्मी केही नभनि निःस्वार्थ रुपले सहयोग गर्ने गुरुवाहरु असल समाजसेवी भएकाले सबैले सहयोग गर्नुपर्ने वताउनु भयो । शिखा एग्रोभेटका सञ्चालकले समितिलाई स्टेशनरी तथा झोला समेत सहयोग गर्नु भएको छ । प्रमुख अतिथि वडा सदस्य दहितले वडाले थोरै थोरै भएपनि गुरुवाहरुको मूल्याङ्कन गर्दै अति आवश्यक सामानहरु सहयोग गरेको भन्दै निरन्तर समाज सेवामा लाग्न अनुरोध गर्नु भएको छ । समितिको नाम अनुसारकै काम जीवन उद्धार रहेकाले यस वर्ष पनि वडाले केही रकम छुट्याएको जानकारी दिनु भयो ।
नागपञ्चमीको दिन गुरुवाहरुले आफ्नो मन्त्र सिद्ध गर्ने, सर्प नागको महिमा गाउँने नाचगान गर्ने लागायतका कार्यक्रम गरिने समितिका सचिव तथा गुरुवा जगतराम थारुले वताउनु भयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समितिका अध्यक्ष कुलराम थारुले स्थानीयको विश्वास र भगवानको साथले आफुहरुले समातेको घाइतेलाई जियाउँन सफल भएको धारणा राख्नु भयो । ग्यारेन्टी कसैले नलिने भएपनि एकै वर्षमा ७० जना सम्म सामान्यदेखि विषालु सर्पले टोकेका स्थानीयलाई निको पारेको र अझै सकेसम्म समाजसेवामा लाग्ने प्रतिबद्धता उहाँको छ ।
२६ °C काठमाडौं
Facebook Comments