• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
नेपाल शिक्षक संघ स्थानीय तहका नेतृत्वहरूलाई एआई तालिम

चुरेकुञ्ज, ११ साउन, बर्दिया । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजनामा स्थानीय तहका नेतृत्वहरुका लागि नेतृत्व क्षमता विकास तालिम भालुवाङ, दाङमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघका स्थानीय तहका नेतृत्वहरूलाई शिक्षण तथा नेतृत्व विकासमा कृत्रिम वुद्दिमता एआईको प्रयोग, नेतृत्व विकास, सहकारी तथा लेखा व्यवस्थापन, साँगठनिक विकास लगायतका विषयमा प्रशिक्षण दिई कक्षा कोठाको सिकाईको प्रभावकारिताका साथै पेशागत नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

दुई दिनसम्म संचालित प्रशिक्षणमा नेपाल शिक्षक संघका संघीय सदस्य अर्जुनप्रसाद तिवारीले भ्रमबाट वास्तविकतातिर, मनस्थिति र नेतृत्व विकास, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले शिक्षक संघ लुम्बिनी प्रदेशका असल अभ्यास एवम् समस्या र चुनौतीहरु, प्रदेश महासचिव यज्ञ नेपालले लुम्बिनी प्रदेशका साँगठनिक गतिविधि, अन्तर्राष्ट्रीय प्रशिक्षक ऋषि न्यौपानेले नविनतम नेतृत्वकला बिषयमा प्रशिक्षण दिनुभएको थियो । यसैगरी नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य कुमारप्रसाद सापकोटाले शिक्षणमा कृत्रिम वुद्दिमता एआईको प्रयोग, प्रदेश सदस्य कुलराज पौडेलले लेखा व्यवस्थापन र नवयुग पेशागत शिक्षक सहकारीका अध्यक्ष गोविन्द पोखरेलले सहकारी शिक्षाका बारेमा प्रशिक्षण दिनु भएको नेपाल शिक्षक संघ लुम्विनी प्रदेशका महासचिव यज्ञ नेपालले जानकारी दिनुभयो । 

प्रशिक्षणमा  लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्व जिल्लाका शिक्षक संघका स्थानीय तहका अध्यक्ष तथा प्रतिनिधिहरु, जिल्ला अध्यक्ष तथा पदाधिकारी एवम प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत ८१ जनाको सहभागिता थियो । यस अघि प्रशिक्षणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउँदै सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेकाले शिक्षक संघले आयोजना गरेका यसप्रकारका प्रशिक्षणले शिक्षकमा पेसागत दक्षता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षक संघ लुम्विनी प्रदेशका बरिष्ठ उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघीय कार्य समितिका सदस्य एवम लेखा समितिका संयोजक कुलप्रसाद लामिछाने, संघीय सदस्य पवनकुमार यादव, प्रदेश उपाध्यक्ष बिरेन्द्र यादव, संघका प्यूठान  जिल्ला अध्यक्ष जानका केसी, रोल्पा जिल्ला अध्यक्ष हुमलाल बिष्ट, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बसन्त, राप्ती गाऊँपालिकाका अध्यक्ष मंगलराम चौधरी लगायतले प्रशिक्षण कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको धारणा सहित मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रशिक्षण कार्यक्रमको संचालन महासचिव अर्थ श्रृजना पण्डितले गर्नु भएको थियो । नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको दोस्रो अधिवेशन पश्चात तय गरेको ४ बर्षे कार्ययोजना अनुरूप यहि असार २१ र २२ गते लुम्बिनी प्रदेशका पूर्वतर्फका ६ वटा जिल्लाका पालिका अध्यक्षहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र अब निकट भविष्यमैं जिल्ला र पालिकाका उपाध्यक्ष, सचिव र सचिव अर्थहरुको प्रशिक्षण कार्यक्रम संचालन गरिने महासचिव नेपालले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशले अगाडि सारेको हाम्रो विद्यालय, हाम्रो पहिचान कार्यक्रमलाई सार्थक बनाउँदै २०८१ को एसईईमा १८ जना ४ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा दिन सफल श्री शान्ति नमूना माध्यमिक विद्यालय तिलोत्तमा, रुपन्देहीका प्रधानाध्यापक, नेपाल शिक्षक संघ संघीय कार्य समिति सदस्य कुलप्रसाद लामिछाने एवम सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments