• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको १४ औं बर्ष प्रवेश

राजेन्द्रप्रसाद धिताल, ११ साउन, बर्दिया । बर्दियाबाट प्रकाशित भैरहेको साप्ताहिक पत्रिका चुरेकुञ्ज १३ बर्ष पूरा गरेर चौधौं बर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा सर्वप्रथम सम्पूर्ण पत्रिकामा आवद्ध सम्पादकीय समूह बधाईको पात्र छ । पत्रिका प्रकाशन गर्न गहिरो लगन र दह्रो प्रतिबद्धताका साथ खट्ने यस पत्रिकाका प्रकाशक पत्रकार यादव आचार्य विशेष बधाईका पात्र हुनुहुन्छ ।

बर्दियामा पत्रिका प्रकाशित गरेर यति लामो समयसम्म टिकाउन सक्नु सजिलो काम हैन । प्रथमतः देशभरि नै मोफसलका साना संचारमाध्यमहरुको अस्तित्व सङ्कटमा छ । ठूला संचारगृहको लगानी  र प्रभाव विस्तारले साना स्थानीय संचार माध्यमहरु सुक्न थालेका हुन् । राज्य ठूला सञ्चार माध्यमलाई पृष्ठपोषण गर्छ । साना संचारमाध्यमलाई टिकाउने राज्यको प्रभाकारी नीति छैन । राज्यका निकायहरूले दिने विज्ञापन, सूचना र सहुलियतमा समेत ठूला संचारगृहको प्रभाव छ । स्थानीय संचारमाध्यमहरु स्थानीय जनताका साथी हुन् । यिनैले स्थानीय जनताका सरोकारहरुको खोजी र उठान गर्छन् । 

स्थानीय सञ्चारमाध्यमले नै वास्तवमा जनता र राज्यबिच पुलको काम गर्छन् भन्ने तथ्यलाई राज्यले महसुस गर्न सकेको छैन । त्यसकारण स्थानीय पत्रिकाको विकास र संरक्षणको सवाल सर्वथा ओझेलमा परेको छ । पत्रकारिताको नीति निर्माण गर्ने तहमा समेत स्थानीय पत्रिकाको सवाल अपेक्षित रूपमा उठन सकेको छैन । यस्तो परिवेशमा स्थानीय पत्रिकाहरुले कठिन चुनौतीको सामना गर्दै आफ्नो यात्रा तय गर्नु परेको परिस्थिति हाम्रा सामु छ ।

मोफसलका अन्यत्र ठाउँहरुको तुलनामा बर्दियाको स्थिति अझै कमजोर छ । सचेत पाठकको अभाव, विज्ञापन उपलब्ध गराउन सक्ने व्यावसायिक प्रतिष्ठान नहुनु, व्यापारिक औद्योगिक विकासको गति कमजोर, यातायात र संचारको संजाल व्यवस्थित हुन नसक्नु, छपाई प्रविधि र उपकरणको अप्रयाप्तता, सञ्चार क्षेत्रमा प्रयाप्त लगानीको अभाव आदि जस्ता कारण अहिले पनि बर्दियाको स्थानीय पत्रकारिता सशक्त बन्न सकेको छैन । यी विविध चुनौतीका बीचमा पनि चुरेकुञ्जले आफ्नो प्रकाशनको यात्रालाई अविराम रूपमा अघि बढाउन सकेको छ । निश्चय पनि यो कठिन काम गर्न सकेकोमा चुरेकुञ्ज बधाईको पात्र बनेको छ ।

अनेकौं कठिनाइका बाबजुद उठेको र अगाडि बढेको यो पत्रिकाले बर्दियामा आफ्नो एक प्रकारको पहिचान कायम गरेको छ । नयाँ ताजा, सत्य तथ्य र जनताका अभिरुचिका विषयलाई उठाएर सन्तुलित ढंगले प्रस्तुत गर्ने यो पत्रिकाको शैली भरपर्दो र विश्वसनीय छ । विवादित र उत्तेजना फैलाउने समाचारलाई यस पत्रिकाले विषयबस्तु बनाएको भेटिएको छैन । सकारात्मक सन्देश दिने विषय, विकास र संरक्षणका समाचार, स्थानीय समस्याहरुप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने विषयलाई यस पत्रिकाले प्राथमिकतामा राखेको पाइन्छ । सामाजिक उत्तरदायित्व र जिम्मेवारीलाई बोध गर्दै संयमित रूपमा समाचार र अन्य पाठ्यसामग्री पस्कन सफल यो पत्रिका यस क्षेत्रका जनताको भरपर्दो समाचारको साथीको रूपमा स्थापित छ ।

आधुनिक युगमा पत्रकारिता नवीन शैली र प्रविधिमा प्रवेश गरेको छ । सामाजिक संजालको बढ्दो प्रयोगले नागरिक पत्रकारिताको हस्तक्षेपकारी भूमिका समाजमा बढ्न थालेको छ । सूचना र समाचारका बीचमा भिन्नता छुट्याउन मुस्किल हुदैछ । पत्रारिताका आधारभूत सिद्धान्तको ज्ञानको अभावमा प्रवाह हुने सूचनाले सत्य र भ्रम के हो छुट्याउन मुस्किल हुने परिस्थिति सिर्जना भैरहेको छ । अहिले समाजमा भ्रम हावी भएको परिस्थिति छ । मूलधारको पत्रकारिताका सामु यो एउटा जटिल चुनौती बनेको छ । अहिले समाजमा एक प्रकारको विसङगति विद्यमान छ । सर्वत्र निराशा छ । एक प्रकारको आम उदासी छाएको छ । मास प्रस्टेसनको अवस्था छ । 

आज हरेकका भूमिका माथि प्रश्न उठेका छन् । व्यवस्थामाथि प्रश्न उठेको छ । अवस्थामाथि प्रश्न उठेको छ । आज नेता प्रश्नको घेरामा छन् । कर्मचारी, शिक्षक, वकिल, पत्रकार सबैमाथि प्रश्न छ । सबै खराब हुन् भन्ने भाष्य निर्माण हुदैछ । यहाँ केही हुदैन भन्ने विचार हावी हुदैछ । जताततै नकारात्मकता फैलिएको छ । यस्तो परिस्थितिका बीचमा हामी छौ । यसलाई चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता बनेको छ । सही सूचना र सही विचारहरुले नै मनस्थितिलाई स्वस्थ बनाउन सक्छन् । आगामी दिनहरूमा चुरेकुञ्जको यात्रा यो बाटोमा हुन सकोस् । चुरेकुञ्ज वाणी विहीनहरुको वाणी बनोस् । निर्धाको साथी बनोस । स्वस्थ समाज निर्माणका लागि सारथी बनोस् । चौधौं बर्ष प्रवेशमा हार्दिक शुभकामना ।

(धिताल बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दियाका उपप्राध्यापक एवम् नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments