गेरुवामा सडक दुर्घटना न्यूनीकरणार्थ सचेतनामूलक होर्डिङ बोर्ड
केशव कोईराला, १० साउन, राजापुर (बर्दिया) । गगन सिंह कुँवर फाउण्डेशन नेपालले सडक दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ इलाका प्रहरी कार्यालय पाताभारलाई ७ वटा सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेको छ । शनिबार गेरुवा गाउँपालिका वडा नम्बर ३ स्थित शान्तिबजारमा आयोजित कार्यक्रममा फाउण्डेशनले सडक सुरक्षाका सन्देशसहित तयार पारिएका बोर्डहरू प्रहरीलाई हस्तान्तरण गरेको हो ।
सवारी सुरक्षाका महत्वपूर्ण सन्देश हस्तान्तरण गरिएका होर्डिङ बोर्डहरूमा “बजार क्षेत्र गति सिमित”, “मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ”, “गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ”, जस्ता सन्देश उल्लेख छन् । कार्यक्रमकै क्रममा इलाका प्रहरी कार्यालय पाताभारले सामाजिक कार्यमा सक्रियता र सडक सुरक्षामा योगदान र्पुयाएको भन्दै फाउण्डेशनका संरक्षक तथा प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो । सामाजिक सेवामा सक्रियता देखाउँदै विभिन्न पीडितको आवाज उठाउन योगदान गरेका गेरुवा अपडेटका सञ्चालक पुष्कर काफ्लेलाई पनि सम्मान गरिएको थियो ।
गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यहरूमा पालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा नं. ३ का अध्यक्ष निर्मल चौधरीले बर्दिया जिल्लामा फाउण्डेशनको उपस्थिति गौरवको विषय भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । सुरक्षा अभिवृद्धिका पहलहरूमा इलाका प्रहरी कार्यालय पाताभारका वरिष्ठ प्रहरी नायब निरीक्षक गणेश बहादुर सिंहले होर्डिङ बोर्डले जोखिमयुक्त सडक क्षेत्रहरूमा सचेतना फैलाउने र दुर्घटना न्यूनीकरणमा टेवा र्पुयाउने विश्वास व्यक्त गर्नुभयो । फाउण्डेशनका संरक्षक तर्क बहादुर कुँवरले चालकलाई सचेत गराउने उद्देश्यले गति सीमितका सन्देशसहितका बोर्डहरू तयार गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का अध्यक्ष कृष्ण थारु, समाजसेवी प्रेम रावल, अस्थायी ट्राफिक प्रहरी पोष्ट पाताभारका इञ्चार्ज हर्दिष खत्री, उद्योग वाणिज्य संघ गेरुवाका अध्यक्ष भिम बहादुर धामी र विभिन्न वडाका जनप्रतिनिधि तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो । गेरुवा–५ सुखाड निवासी शेर बहादुर कुँवर र उहाँका दाजु तर्क बहादुर कुँवरले दिवंगत बुवाको स्मृतिमा स्थापना गरेको गगन सिंह कुँवर फाउण्डेशनले अल्पसंख्यक, पिछडिएका तथा सिमान्तकृत समुदायलाई सक्षम नागरिक बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक, सीपमूलक तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
२६ °C काठमाडौं
Facebook Comments