बाँसगढीमा आदिवासी ज्ञानमा आधारित परम्परागत पहिरन सम्बन्धी तालिम
विन्दु चौधरी, ७ साउन, बाँसगढी (बर्दिया) । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत ‘पोदोङः आदिवासी जनजाति पहल’ मार्फत एक महिने सीपमूलक तालिम सुरु गरिएको छ । रेडियो गुर्वावा एफएमको सहकार्यमा भइरहेको तालिममा बाँसगढी नगरपालिका वार्ड नम्बर ४ र ५ वडाका स्थानीय महिलाहरूलाई आदिवासी ज्ञानमा आधारित परम्परागत पहिरन—विशेषगरी लेहेंगा चोल्या बुटिक निर्माण सम्बन्धी सीप प्रदान गर्न लागिएको हो ।
कार्यक्रममा बाँसगढी नगरपालिका उपप्रमुख इन्दिरा चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउने खालका यस्ता कार्यक्रमहरू नगरको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले बाँसगढी नगरपालिकाबाट मागमा आधारित तालिमका लागि आवेदन माग समेत गरिसकेकोले आफु भित्र लुकेको सीपलाई व्यवहारमा उतारेर रोजगारीमा जोड्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि जुनसुनै सिप, तालिम वा उत्पादनमा सामूहिक रुपमा लाग्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै बाँसगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दहवा थारुले परम्परागत सीपमा आधारित उत्पादनलाई बजारसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाम्रा पहिरनमा मौलिकता रहेकाले सीप विकाससँगै यसको प्रवद्र्धन गर्न सके स्थानीय रोजगारी र सांस्कृतिक पहिचान दुवै जोगिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले आदिवासी समुदायको ज्ञान, सीप र संस्कृतिलाई जगेर्ना गर्दै बजारिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदायको परम्परागत विवाह पहिरनलाई आधुनिक डिजाइनमा रूपान्तरण गरी फेसन सोमार्फत प्रचार–प्रसार गर्दै बजारसम्म पु¥याउने योजना रहेको बताउनुभयो ।
हाम्रो मौलिकता संरक्षण गर्दै आधुनिक तरिकाले प्रस्तुत गर्दै सांस्कृतिक पहिचानसँगै रोजगारी र व्यवसायको सम्भावना खोज्नुपर्ने उहाँले बताउनुभयो । एक महिनासम्म सञ्चालन हुने तालिममा २० जना महिलाहरू सहभागी छन् । शुसि बुटिक सेन्टर बाँसगढीकी संचालक शुशिला चौधरीले तालिम दिईरहनुभएको छ । भने उद्घाटन तालिमको संचालन रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गर्नुभएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments