• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
बर्दियामा सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागू 

हरि गुरुङ, ३ साउन, मधुवन (बर्दिया) । बर्दियामा “समृद्धिका लागि वन परियोजना“ अन्तर्गत दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू भएपछि आम उपभोक्ता खुशी भएका छन । बर्दियामा २ सय ७९ वटा सामुदायिक रहेका छन् भने डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र करिब २० हजार ४ सय ९२ दशमलव ९१ हेक्टर वन रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ देखि ९० वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणालीमा आधारीत वन व्यवस्थापन कार्ययोजना बनाई वन व्यवस्थापन भएको छ । ५ लाख सेफ्टी काठ उत्पादन भएको छ । वन सम्वद्र्धनका मुख्य ३ कुराहरू रहेका छन् । बुढा रुख काट्ने, नयाँ बिरुवा उमार्ने र पहिले उम्रिएका बिरुवालाई हुर्काउने । काट्ने, उमार्ने र हुर्काउने प्रक्रिया निरन्तर चलिरहन्छ । संवद्र्धन प्रणाली लागू भएपछि आम उपभोक्ताहरुले समयमा घर बनाउन सहज तरिकाले काठ दाउरा उपलब्ध हुनुको साथसाथै रोजगारी आय–आर्जनमा टेवा पुगेकाले खुशी भएका छन । हालसम्म सबै समुह बिक्री वितरण बाट २५ करोड रुपैयाँ जम्मा भएको छ । जसमध्ये राज्यलाई ४ करोड राजश्व प्राप्त भएको छ । 

सामुदायिक वनमा आम्दानी भएको रकम १ सय प्रतिशतबाट विभिन्न शिर्षकमा खर्च गर्नुपर्ने हुन्छ । ४० प्रतिशत संरक्षण तथा वन व्यवस्थापन गर्नुपर्छ । ६० प्रतिशत मध्ये ३० प्रतिशत गरिवी न्यूनीकरण, महिला सशक्तीकरण र वन उद्यममा खर्च गर्नुपर्ने हुन्छ भने बाँकी ३० प्रतिशत समुदायको संरक्षण हितमा काम गर्ने रहेको डिभिजनल वन कार्यालय बर्दियाका वन अधिकृत विजयराज सुवेदीले बताउनु भएको छ । सामुदायिक वनमा भएको आम्दानीले स्थानीय विकास र वन संरक्षण राम्रोसँग हुने सम्भावना बढेको छ । बर्दिया जिल्लामा सबैभन्दा ठूलो समस्याका रुपमा मानव बन्यजन्तु द्वन्द न्यूनीकरणलाई डिभिजन वन कार्यालय र स्थानियसंग मिलेर लैजाने र वन अतिक्रमण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । 

संवद्र्धन प्रणाली वन व्यवस्थापनबाट कटान मुछानले उपभोक्ता हर्षित भएका छन । आन्तरिक खपत वापत आएको रकमबाट ४० प्रतिशत वन व्यवस्थापनमा नै खर्च गर्नुपर्ने र ३० प्रतिशत गरीब अतिविपन्न समुदायमा अनुदान वापत खर्च गर्ने समूहले योजना बनाएको छ । सामुदायिक वनबाट निकासा गरिएको काठ समान रूपले प्रति घरधुरी ३५ क्युफिट वितरण गर्ने गरेको झरसलवा सामुदायिक वन ठाकुरबाबाका अध्यक्ष पहरी थारुले जानकारी दिनुभयो । समूहले समुदायमा घरधुरी वर्गीकरण गरेको छ । वर्गीकरण अनुसार फरक फरक मुल्यदर कायम समेत गरेको उहाँ वताउनु हुन्छ । समूहले नै निर्णय गरी अतिविपन्न परिवारलाई रोजगार र आय–आर्जन गर्नका लागि फर्निचर उद्योग सञ्चालन गरी रोजगारी दिने योजना सामुदायिक वनको रहेको छ । 

कार्यक्रमले स्थानिय स्तरमा रोजगारी बढेको छ । सामाजिक कार्य गर्न सहज पुगेको छ । संरक्षण गर्दै आएका तर उपभोग गर्ने नपाएका स्थानिय कटान मुछान पाएपछि दङ्ग परेका छन । संवद्र्धन प्रणाली लागू भएपछि आवश्यकता परेका काठ सहज रुपमा उपलब्ध भएको सगुन सामुदायिक वन मधुवनकी अध्यक्ष मनु थापा बताउनु हुन्छ । अन्य जिल्लाबाट लिन धेरै खर्च लाग्ने तर पनि भनेको जस्तो काठ नपाउने समस्या पनि हटेर गएको छ । संवद्र्धन प्रणाली वन व्यवस्थापनले गर्दा उपभोक्ताहरुलाई आवश्यक पर्ने काठ अचेल अन्यत्र खोज्न जानुपरेको छैन । 

आन्तरिक खपत वापत आएको आम्दानी रकमले मानव बन्यजन्तु द्वन्द न्यूनीकरण कम गर्न मानव बस्ती र जंगल वीच करिब २ किलोमिटर मेस वाइर जाली, सुरक्षित बाख्रा खोर वितरण जस्ता सामाजिक कार्य गर्दै आइरहेको खोदाउ सामुदायिक वनकी अध्यक्ष विमला कँडेलले बताउनु भयो । यसले रोजगारी मुलक र सिपमुलक कार्य गरी आय–आजर्नमा सहज भएको छ । सामुदायिक वन र डिभिजन वन कार्यालय बर्दिया मिलेर अहिलेसम्म करिब २० हेक्टर वन अतिक्रमण हटाएको छ भने रोजगारीमा स्थानिय उपभोक्ता र स–मिल लाई १० करोड रुपैयाँ आम्दानी मिलेको छ । रोजगारी र आम्दानी संगसंगै वनको अवस्था सुध्रिएको छ । समृद्धिसङ्ग जोडिएको हुनाले यस्ता कार्यहरुलाई सातै प्रदेशमा लागू गर्न जरुरी रहेको संरक्षणकर्मीको भनाई छ । 

 

सम्बन्धित समाचार

Facebook Comments