• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
मानव–बन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धी पत्रकारसँग अन्तरक्रिया

विन्दु चौधरी, १२ असार, बर्दिया । जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवर्धन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी बर्दियाका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको आयोजनामा र बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणसम्बन्धी अन्तक्रिया गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख संरक्षण अधिकृत एवम् कार्यक्रमका प्रमुख अतिथि अजितराज तुम्बाहाम्फेले सहजीकरण गर्नुभएको थियो । तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार, २०७६ देखि २०८० सम्म बर्दिया–बाँके कम्प्लेक्समा बाघ, हात्ती र चितुवाको आक्रमणबाट ५४ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । तीमध्ये सबैभन्दा धेरै आक्रमण बाघबाट भएको छ, जसबाट ३९ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट ३ जनाको र हात्तीको आक्रमणबाट १२ जनाको ज्यान गएको छ । नेपालभर वार्षिक रूपमा औसत ६ सय वन्यजन्तु उद्धार तथा पुनःस्थापना गरिएको तुम्बाहाम्फेले बताउनुभयो । २०७९/८० मा सबैभन्दा बढी एक हजार ६० वन्यजन्तु उद्धार गरिएका थिए, जसमा स्तनधारी जनावर र चराचुरुंगी प्रमुख छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोषले जैविक विविधता संरक्षण, वन्यजन्तु बासस्थान व्यवस्थापन, वातावरणीय शिक्षा, अनुसन्धान, सामुदायिक सहभागिता र वातावरणमैत्री पर्यटन प्रवर्धनमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य दलबहादुर सुनार, पूर्व अध्यक्ष मिनराज शर्मा, निवर्तमान अध्यक्ष यादव आचार्य, पूर्व अध्यक्ष कमल पन्थी, पृथ्वी पत्रकारिता पुरस्कारका संस्थापक कमलराज पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य मेघराज सिग्देल लगायतले बोल्दै जैविक विविधताको संरक्षणमा सञ्चारकर्मीको भूमिकालाई सशक्त बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष डिलप्रकाश गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव यज्ञप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments