• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
शैक्षिक क्षेत्र बाँसगढी नगरपालिकाको प्राथमिकतामा

विन्दु चौधरी, २ असार, बाँसगढी (बर्दिया) । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बाँसगढी नगरपालिकाले कुल बजेटको ३० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजनगर्दै आएको बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले बताउनु भएको छ । शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको र बजेटको अभावका कारण केही चुनौतीहरू रहेपनि आगामी नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेटमा पुनः हेरफेर गरिने उहाँले स्पष्ट पार्नुभयो । 

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँगको शैक्षिक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको आयोजना तथा बाँसगढी नगरपालिका शिक्षा शाखा र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा ४० वटा सामुदायिक र १६ वटा संस्थागत गरी कुल ५६ विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले जिल्लाका शैक्षिक विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार बर्दिया जिल्लामा प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्म १ लाख १९ हजार ८ सय ८६ जना विद्यार्थी रहेका छन् । जसमा बाँसगढी नगरपालिकामा मात्रै १७ हजार ३ सय ७१ विद्यार्थी रहेका छन् । बाँसगढीका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले नगरपालिकालाई साक्षरता क्षेत्र घोषणा गरिएको भए पनि हालको साक्षरता दर ७९ दशमलव ३ प्रतिशत मात्र रहेको जानकारी दिनुभयो । 

उहाँले कक्षा १ देखि ५ सम्म खुद भर्ना दर ९७ प्रतिशत र कक्षा ९ देखि १२ सम्मको खुद भर्ना दर ५८ दशमलव १ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । बाँसगढीमा हाल १ सय ७६ जना शिक्षक दरबन्दी, १ सय २६ जना राहत अनुदान शिक्षक तथा ८ जना प्राविधिक धारका शिक्षक कार्यरत रहेको उहाँले प्रष्ट्याउनु भयो । त्यसैगरी, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका कार्यक्रम संयोजक जीतराम चौधरीले बाँसगढी नगरपालिकामा संस्थाले गरेका शैक्षिक सहयोग विवरण प्रस्तुत गर्नुभयो । 

उहाँका अनुसार ९ वटा विद्यालयका २७ कक्षाकोठा बालमैत्री बनाइएको, ८ विद्यालयका २० कक्षाकोठामा कार्पेटिङ, ३ विद्यालयका ११ कक्षाकोठामा बालपेन्ट, ५ विद्यालयका बालविकास कक्षामा खेलौना सामग्री वितरण, २ विद्यालयमा श्रव्यदृश्य सामग्री जडान, ५ विद्यालयमा खानेपानीको व्यवस्था तथा ९ विद्यालयमा मर्मत संभार गरी सुरक्षित सिकाइ वातावरण निर्माण गरिएको छ । कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयमा देखिएका समस्याहरू र सुधारका उपायहरूबारे पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments