• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
मयुर कप फूटवलको उद्घाटन खेलमा अमरज्योति विजयी 

दल बहादुर सुनार, बढैयाताल (बर्दिया) । प्रथम यू १८ बढैयाताल  बिद्यालय स्तरीय मयुर कप  फूटवल प्रतियोगिताको उद्घाटन खेलमा अमर ज्योति माध्यमिक विद्यालय सितापुर विजयी भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पडरियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।


अमरज्योति माविले खेलको पहिलो  हाफमा ४ गोल र दोस्रो  हाफमा २ गोलगर्दै नेरामाविलाई पराजित गरेको मुख्य रेफ्री कृष्ण गोपाल चौधरीले जानकारी दिनु भएको छ । बढैयाताल गाउँ पालिकाका अध्यक्ष  हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा खेल समुद्घाटन गरिएको हो । गाउँ पालिकाको कार्यालय र ८ नम्बर वडा कार्यालयको सहयोगमा मयुर युवा क्लबको खेल मैदानमा सञ्चालन  भएको  प्रतियोगितामा बढैयाताल अन्तरगतका ११ वटा माध्यमिक  बिद्यालय सहभागी छन् । 


शुक्रवारदेखि शुरु गरिएको प्रतियोगिता पौष ७ गते सम्म संचालन हुने क्लबका प्रशिक्षक बिबेश गुरुङले जानकारी दिनु भयो । मयुर युवा  क्लब, कालिका सामुदायिक पुस्तकालय बढैयातालको संयुक्त आयोजनामा तथा जिल्ला फुटबल संघ बर्दियाको समन्वयमा संचालित प्रतियोगितालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागी उद्योगी, ब्यापारी लगायत संघ संस्थाले जिन्सी तथा नगद प्रायोजन गरेका छन् । बढैयाताल ८ मल्ल  टोल निवासी हिरा बहादुर मल्ल र देवी मल्ल मुख्य प्रायोजक रहेको क्लबले जनाएको छ । 


शनिवार पहिलो खेल जयकालिका मा.बि.मुनालबस्ती र शारदा मा.बि मैनापोखर तथा दोस्रो खेल भगवती   मा.बि. तिलकाना र जन प्रिय मा.बि .फुटाहा बिच हुने आयोजकले जनाएको छ । मयुर युवा  क्लबका अध्यक्ष तारानाथ ज्ञवालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बढैयाताल गाउँपालिका ८ न. वडाका अध्यक्ष तेजनाथ पौडेलले स्वागत मन्तब्य तथा हिकमत सुनारले कार्यक्रम सञ्चालन गर्नु भएको  थियो ।

सम्बन्धित समाचार

Facebook Comments