बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको परियोजनाबाट स्थानिय लाभान्वित
विन्दु चौधरी, २४ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले सञ्चालन गरेको विभिन्न परियोजनाबाट हजारौँ स्थानीय नागरिक लाभान्वित भएका छन् । शिक्षा, स्वास्थ्य, सीप विकास, युवा सशक्तिकरण र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम प्रभावकारी देखिएका छन् ।
पुस्तकालयको ८ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा पुस्तकालयका अध्यक्ष गोविन्द प्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष भूमि विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । पुस्तकालयले सञ्चालन गरेका विभिन्न परियोजनामार्फत हालसम्म ८ सय ३७ जना युवाको क्षमता विकास गरिएको छ । सुरक्षित स्थानान्तरण दियो परियोजना अन्तर्गत तीन चरणमा ५ हजार ५ सय ४ जनालाई सुरक्षित वैदेशिक रोजगारीका विषयमा सचेत बनाइएको छ । सो क्रममा आवश्यक कागजात, प्रक्रिया, उजुरी प्रवाह लगायतका विषयमा जानकारी दिइएको हो ।
त्यस्तै विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञानसहित समावेशी अपांगता भएका २ हजार ६ सय ८६ जना व्यक्ति तथा जेष्ठ नागरिकका हक–हितमा काम गरिएको छ । आर्थिक अभावका कारण वञ्चित भएका ८ सय १२ जना विद्यार्थीलाई पुस्तकालयले निःशुल्क बेसिक कम्प्युटर शिक्षा प्रदान गरेको छ । पुस्तकालयमा शैक्षिक तथा पुस्तकालय सञ्चालन कक्ष, महिला कक्षा, युवा कक्षा, सूचना प्रविधि तथा श्रब्य–दृश्य कक्ष, आर्थिक उपसमिति, वाल कक्ष र जेष्ठ नागरिक कक्ष स्थापना गरिएको छ । हाल पुस्तकालयमा १ सय ६२ जना आजीवन सदस्य तथा ६ सय ७५ जना पाठक सदस्य छन् ।
पुस्तकालयले संघीय सरकार अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय पुस्तकालय विभाग, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बाँसगढी नगरपालिका, रिड नेपाल तथा रेष्टलेष्ट डेभलपमेन्टबाट सहयोग प्राप्तगर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ को वैशाख मसान्तसम्म पुस्तकालयको आय १५ लाख ९२ हजार ५ सय १० रुपैयाँ पुगेको छ भने खर्च १४ लाख ३१ हजार १ हजार ४७ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभामा संविधान सभा तथा प्रतिनिधि सभा सदस्य निर्मलप्रकाश सुवेदी प्रमुख अतिथि रहनुभएको थियो ।
बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरी, सामाजिक विकास समिति संयोजक तुलप्रसाद गौतम, राष्ट्रिय पुस्तकालय महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद पंगेनी, पुस्तकालयका सल्लाहकार वासुदेव पोख्रेल, संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार शिवकुमारी सापकोटा, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, समाजसेवी विष्णु परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकालय अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमप्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष वलराम भुजेलले दिनु भएको थियो ।
२४ °C काठमाडौं
Facebook Comments