• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा विश्व वातावरण दिवस

हरि गुरुङ, २२ जेठ, मधुवन (बर्दिया) । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा अवस्थित अन्तर्राष्ट्रिय खाता जैविकमार्ग क्षेत्रको जनजागृति सामुदायिक वन उपभोक्ता समूहको १ दशमलव ५ हेक्टर क्षेत्रफलमा जामुना र अर्जुन जातका ५ सय ९ वटा बिरुवा रोपण गरी विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना, खाता सामुदायिक वन समन्वय समिति, ग्लोबल आईएमई बैक गुलरिया शाखा, इलाका प्रहरी कार्यालय ढोढरी, सशस्त्र प्रहरी विओपी धनौरा र भग्रैयाको सहकार्यमा बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

प्लाष्टिक प्रदुषण न्यूनीकरण हाम्रो दायित्व भन्ने मुल नारासहित विश्व वातावरण दिवस मनाइएको हो । हरेक वर्ष जून ५ मा यो दिवस मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिईएको छ । 

यसले प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गरेको छ । दिवस मार्फत जनताको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक र नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न, वातावरण नीति र कानूनले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न साथै समग्र पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि सरकार लगायत सबैलाई जागरुक गराउन उत्साह प्रदान गर्ने विस्वास लिईएको छ । 

सम्बन्धित समाचार

Facebook Comments