• ९ वैशाख २०८३, बुधवार
  • २२ °C काठमाडौं
बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

विष्णु अधिकारी, १४ जेठ, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुर गाउँमा चितुवाको आक्रमणमा परि एकजना बालिकाको मृत्यु भएको छ । बालापुरकी ६ बर्षिया बालिका सायरा चौधरी विहान ८ बजेको समयमा घरको पछाडि पट्टी रहेको शौचालयमा जाँदा चितुवाले आक्रमण गरेको थियो । 

मृतक बालिकाका आफन्तहरुले चितुवालाई नियन्त्रणमा नलिए सम्म शव नउठाउने बताएका छन् । मृतकका आफन्तहरु बर्दिया जिल्ला अस्पतालबाट नाराबाजीगर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी चक्का जाम समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका आक्रोशित स्थानीयहरुले नाराबाजी समेत गरेका छन् । 

गुलरिया नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मुम बहादुर मल्लले चितुवा नियन्त्रणमा सम्बन्धित निकायले चाँसो नदिएको बताउनु भयो । यदि समयमै चितुवा नियन्त्रणमा लिन नसके धेरैले ज्यान गुमाउनु पर्ने उहाँको भनाई छ । स्थानीय दिनेश चौधरीले चितुवा नियन्त्रण नलिए सम्म अस्पतालबाट लाश नउठाउने बताउँदै चितुवालाई सम्बन्धित निकायले नियन्त्रणमा लिनु पर्यो कि हामी सक्दैनौ भनी जवाफको पर्खाईमा रहेको बताएका छन् । 

अब खेतीको समय शुरु भैसकेको समयमा घरमा बालबालिकालाई छोडेर काममा जान अप्ठेरो परेकोले चितुवालाई छिटो भन्दा छिटो नियन्त्रणमा नलिएमा आफुहरु जंगली जनावर नियन्त्रणका लागि अगाडी बढ्ने स्थानियले चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले चितुवा नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने स्थानीय सँग प्रतिवद्धता गरेपछि स्थानीयहरुले विरोधलाई मत्थर गरेका छन् । सोही वडामा पछिल्लो समय चितुवाको आक्रमण बढेको छ । 

सम्बन्धित समाचार

Facebook Comments