अतिक्रमणले थिलोथिलो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
यादव आचार्य, २७ बैशाख, बर्दिया । सूदूरपश्चिम नेपालको कञ्चनपुरमा अवस्थित जैविकविविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अतिक्रमणले थिलोथिलो परेको छ । दक्षिततर्फ सीमावर्ती भारत र पूर्वतर्फ सुकुम्वासी नेपाली वस्तीको अतिक्रमणले निकुञ्ज संरक्षणमा चुनौती थपिएको छ ।
बन्यजन्तुको स्वर्गतुल्य बासस्थान मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको मूलधारसँग जोडिन नसक्दा स्वदेशमै आयआर्जनको ढोका समेत बन्द भएको छ । ३ सय ५ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहेपनि अतिक्रमणको लामो समयदेखि अतिक्रमणको चपेटामा परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताए । पानी, घाँसे मैदान, स्वस्थ वन भएका कारण निकुञ्ज बन्यजन्तुको लागि सुन्दर वासस्थान छ । पछिल्लो समय निकुञ्जमा जैविकविविधताको संयोजन राम्रो हुँदै गएकाले बन्यजन्तुको संख्यामा समेत बृद्धि भएको उनले बताए ।
निकुञ्जमा हात्ती, बाघ, गैडासँगै बारसिंगाको संख्या दिनानुदिन बढेको छ । निकुञ्जमा जैविकविविधतामा कुनै समस्या नभएपनि सुकुम्वासीहरुको ब्यवस्थापन तथा भारतीय तर्फबाट अतिक्रमण मुख्य चुनौतीको रुपमा देखिएको छ । दक्षिण भारतीय सीमातर्फ पिलर नम्बर २७ र २८ शिकारी तालसम्मको करिव ९ सय विगाहा क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण गरी कृषि कार्य भैरहेको बताए । पूर्वतर्फ धक्का, तारापुरको अतिक्रमित छुटेको वस्ती ब्यवस्थापन हुन नसक्दा निकुञ्जलाई समस्या परेको छ । निकुञ्जको बर्षेनी बजेट कटौतीले पनि पूर्वाधार लगायतका निर्माणमा समस्या देखिएको प्रष्ट्याए ।
जैविकविविधताको दृष्टिले महत्वपूर्ण मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४४ वटा पाटेबाघ र २३ वटा एकसिंगे गैडा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । निकुञ्जमा ३ सयभन्दा बढी कृष्णसार छन् । बारसिंगाको लागि नेपालकै प्रमुख निकुञ्ज हो । उनले भने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जैविकविविधता अथाह सम्भावना भएपनि पर्यटक आगमनको हिसावले चिन्ताजनक छ । निकुञ्जको तथ्यांक अनुसार विदेशी २ सय र स्वदेशी ४ हजार पर्यटक अवलोकनका लागि भित्रिएका छन् । पर्यटनमा निजि क्षेत्रको लगानी नहुँदा पर्यापर्यटन प्रर्बद्धनमा चुनौती थपिएको उनको भनाई छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविकविविधताको हिसावले सम्पूर्णता भएको मानिन्छ । सानो निकुञ्ज भएपनि जैविकविविधतामा सम्पन्न छ । निकुञ्ज बन्यजन्तुको बासस्थानको दृष्टिले समेत मजवुत छ । पर्यटनको मूलधारसँग निकुञ्जलाई जोड्न नसक्दा आर्थिक समृद्धिको बाधक बनेको हिमालय नेचरका वरिष्ठ कार्यक्रम अधिकृत श्रीराम घिमिरेले बताए । निकुञ्जसँग समुदायलाई जोड्दै ब्यवस्थापकिय सुधार गर्नसके नेपालकै प्रमुख पर्यटकिय गन्तब्य बन्न सक्छ । निकुञ्जको अतिक्रमण अन्त्यगर्दै प्रचारप्रसार गर्नसके पश्चिम नेपालकै पर्यटकिय हब बनाउनु पर्नेमा उनको जोड छ । अन्नपूर्ण पोस्ट्बाट ...
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणवर्ती भारतीय सीमासँग जोडीएको अतिक्रमित खेती गरिएको नेपाली भूमि तस्विर : यादव आचार्य
२२ °C काठमाडौं
Facebook Comments