लागुऔषध नियन्त्रण गर्न प्रहरीको ‘स्वीप अपरेसन’
दलबहादुर सुनार, २६ चैत्र, बर्दिया । खुला सीमाका कारण लागुऔषध तस्करी बढ्न थालेपछि बर्दिया प्रहरीले ‘स्वीप अपरेसन’ अभियान सञ्चालन गरेको छ । भारतसँग करिब ८३ किलोमिटर खुला सिमाना जोडिएको बर्दियामा लागुऔषधको ओसारपसार रोक्न अभियानलाई तीव्र पारिएको छ ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा कडाइगर्दै लागुऔषध, चोरी–निकासी, जुवातास लगायतका अवैध क्रियाकलाप नियन्त्रण गर्न ‘स्वीप अपरेसन’ प्रभावकारी रूपमा अघि बढेको छ । प्रहरी उपरीक्षक (एसपी) केदार खनालका अनुसार चालु आर्थिक वर्ष २०८१ को श्रावणदेखि चैत्र १५ गतेसम्म १ सय ४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिहरूबाट १७ किलो ८४ ग्राम गाँजा, २ किलो १ सय ६ ग्राम चरेश, ९८ ग्राम ७९९ मिलिग्राम ब्राउन सुगर र १ सय ४६ थान प्रतिबन्धित ट्याबलेट बरामद गरिएको छ । त्यस्तै चैत २० गतेसम्म फरार रहेका २ सय ४ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको बताईएको छ । उनीहरूबाट १ करोड ८५ लाख रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ ।
पीडित राहत कोषमा ५ लाख ५६ हजार रुपैयाँ जम्मा गरिएको प्रहरी उपरिक्षक खनालले बताउनु भयो । अवैध चोरी–निकासी नियन्त्रण अभियान अन्तर्गत ९९ लाख ३४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरिएको प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयो । प्रहरीको सक्रियतापछि जिल्लामा लागुऔषध तस्करी, चोरी–निकासी, घरेलु हिंसा, जुवातास लगायतका अपराधहरूमा कमी आएको उहाँको दाबी छ । फरार प्रतिवादी पक्राउ अभियानकै क्रममा २२ वर्ष १० महिना १९ दिनपछि बढैयाताल गाउँपालिका–१ (साबिक जमुनी) बस्ने कुलबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका तर फरार रहेका राजापुर–६ का जगत थारू र थुनुवा भगाएको मुद्दामा २५ वर्ष ७ महिना कैद सजाय पाएका राजापुर–८ का विष्णु खत्रीको मृत्युपछि दुवैको नाम लगत कट्टा गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार स्थानीय सरकार, नागरिक समाज र समुदायसँगको सहकार्य रहेमा अभियान अझ प्रभावकारी बन्नेछ । प्रहरीले समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । अपराध नियन्त्रण तथा शान्ति–सुरक्षाको प्रर्बद्धनका लागि ‘स्वीप अपरेसन’ लाई निरन्तरता दिने जनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments