बेमौसमी तरकारी खेतीबाट लाखौँ आम्दानी
दलबहादुर सुनार, १८ चैत्र, बढैयाताल (बर्दिया) । २०४६ सालदेखि निरन्तर कृषिमा संलग्न रहँदै आएका बढैयाताल गाउँपालिका वडा नम्बर ७ फुलपुरका किसान ईश्वरी प्रसाद थारुले एक विगाहा १५ कठ्ठा क्षेत्रफलमा बेमौसमी तरकारी खेतीगर्दै आउनु भएको छ । बेमौसमी तरकारी खेती मार्फत वार्षिक ८ देखि १० लाखसम्म आम्दानीगर्दै आउनु भएका थारुले गाउँपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा उन्नत जातका बिउ र विषादी प्राप्त गरेको बताउनु हुन्छ ।
मेहनत गरे अनुसारको राम्रो आम्दानी पाएको छु । उहाँले भन्नुभयो, “ब्यावसायिक तरकारी खेति मार्फत मैले घर व्यवहार सहजै चलाउन सकेको छु । यदि निरन्तर यही पेशामा लागिरहेँ भने आफ्नै माटोमा सुन फलाउन सकिन्छ,” । बारीमा अहिले काक्रा, फर्सी, तरबुजा, लौका फलेका छन्, जसको बजारमा अत्यधिक माग छ । त्यस्तै, वडा नं ७ स्थित शिवशंकर बिउ आलु उत्पादन समूह, बोकटीयाले करिब १८ विघामा लगाएको हिउँदे मकै खेती गरेको छ । समूहले ५० प्रतिशत अनुदानमा प्राप्त मल तथा बिउ प्रयोग गरी पहिलो पटक मकै खेती गर्न लागेको जनाएको छ । किसानहरूले मकैबाट राम्रो आम्दानी हुने अपेक्षा राखेका छन् ।
वडा नं ७ मयुरबस्ती स्थित सीता पंगालीको ‘राधाकृष्ण तरकारी तथा पशुपंक्षी फार्म’ मा लगाइएको करिब तीन कठ्ठाको तरकारी खेतीमा काक्राको उत्पादन घटेपछि करेला र फर्सी रोपिएको छ । करेला र फर्सी अवको करिव १०–१२ दिनमा बिक्री हुने बताउदै काक्रा खेतीबाट करिब एक लाख आम्दानी गरेको फार्म सञ्चालक सिता पंगालीले जानकारी गराउनु भयो । यसैगरी, मयुरबस्तीकै अर्का कृषक भीम बहादुर थारुको खेतमा काक्रा, फर्सी र चुकन्दर उत्पादन भइरहेको छ । उहाँले ३ कठ्ठा जग्गाबाट ३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको बताउनु भयो । तर, समयमा मल नपाउने समस्याले उत्पादन प्रभावित भएको गुनासो किसानहरुको छ । भारतबाट ल्याएको मल गुणस्तरहीन भएकोले उत्पादन कम भएको उनीहरु बताउँछन् ।
त्यसैगरी, बढैयाताल गाउँपालिका–८ सितला बजारस्थित नारी विकास केन्द्रले १५ विघामा लगाएको हिउँदे तथा बसन्ते मकै खेती सप्रिएको छ । कृषि शाखाको ५० प्रतिशत अनुदानमा लगाइएको मकै खेतीको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । केन्द्रकी अध्यक्ष सरस्वती पोख्रेल भन्नुहुन्छ, “हाम्रो लक्ष्य ९० हजार किलो मकै उत्पादन गर्ने छ, जसको अनुमानित बजार मूल्य ३६ लाख रुपैयाँ पुग्नेछ ।” तर, समयमा रासायनिक मल नपाउने समस्याले केही क्षेत्रफलमा उत्पादन प्रभावित भएको छ् । स्थानीय किसानहरू खेतीमा नवीन प्रविधि, उन्नत बिउ, गुणस्तरीय मल तथा उचित बजार व्यवस्थापनको माग गरिरहेका छन् । पालिकाले समयमै आवश्यक मल तथा प्रविधिको व्यवस्था गरेमा उत्पादन अझ राम्रो हुने कृषकहरू बताउनु हुन्छ ।
बढैयाताल गाउँपालिकाको कृषि शाखाले किसानहरूद्वारा लगाइएको बालीको स्थलगत अनुगमन सम्पन्न गरेको छ । अनुगमन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको संयोजकत्वमा वडा नं ७ र ८ मा सञ्चालन गरिएको थियो । कृषि शाखाको अनुदान सहयोगमा किसानहरूले लगाएका बेमौसमी तरकारी तथा हिउँदे मकैको अवस्थाबारे निरीक्षण गरिएको अनुगमन टोलीमा उपाध्यक्ष अधिकारी, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, लेखा अधिकृत नारायण त्रिपाठी, लेखापाल देबराज गिरी र सञ्चारकर्मी लगायतको सहभागीता थियो ।
२५ °C काठमाडौं
Facebook Comments