बर्दियाको ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट घोषित
हरि गुरुङ, ८ चैत्र, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा देशभरकै उत्कृष्ट नगरपालिका घोषित भई सम्मानित भएको छ । नेपाल नगरपालिका महासंघको विहिबार आयोजित ३२ औं स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएसंगै सम्मान पत्र प्राप्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना कुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो । नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने ६ वटा नगरपालिकाहरुलाई सम्मान गरेको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उप महानगरपालिकालाई सामाजिक विकासमा देशभरकै उत्कृष्ट कार्य गरे वापत पुरस्कृत गरिएको छ । यस्तै वातावरण संस्कृति पर्यटन प्रवद्र्धनमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई, आर्थिक विकासमा नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई देशभरकै उत्कृट नगरपालिका पुरस्कार प्रदान गरिएको छ । नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाले दोसल्ला ओढाएर तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना कुमारी भट्टराईलाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हो । संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा नेपालकै उत्कृष्ट हुनु सम्पुर्ण ठाकुरबाबा नगरपालिकाबासीका लागि गर्वको कुरा रहेको मेयर लम्सालले चुरेकुञ्जलाई बताउनुभयो । आफु निर्वाचित भएदेखि नै संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा राम्रो गर्दै आएकोले अहिले प्रतिफल पाएकोले थप हौसला मिलेको बताउँनु भयो ।
मेयर लम्सालले नगरपालिकालाई यहाँसम्म पुर्याउन अहोरात्र खटिने सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु र सधँै सकारात्मक उर्जासहितको सुझाव, सल्लाह प्रदान गर्नुहुने सम्पुर्ण नगरबासीहरुमा धन्यवाद व्यक्त गर्नु भएको छ । सम्मानका लागि नेपाल नगरपालिका संघलाई समेत उहाँले आभार प्रकट गर्नुभयो । ठाकुरबाबा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका भएर सम्मानित हुन पाउँदा खुशी लागेको उपमेयर भट्टराईले बताउनुभयो ।
यसअघि संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ९५ दशमलव ७५ अंक प्राप्त गरी पहिलो, वित्तीय सुशासन जोखिम (एफ.आर.ए.) मूल्याङ्कनमा पनि पहिलो र कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थानमा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेपाल नगरपालिका संघको ३२ औँ दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादनका आधारमा देशभरका ६ वटा नगरपालिकालाई पुरस्कृत गरिएको हो । नेपाल नगरपालिका संघले संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर देशभरका नगरपालिकाहरुको कामको मूल्याङ्कन गरिएको थियो ।
१९ °C काठमाडौं
Facebook Comments