• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
नेपाली भाषाको पहिलो ‘गणेश चालिसा’ बर्दियामा सामूहिक पाठ

यादव आचार्य, १६ फागुन, बर्दिया । भक्तियोग फाउण्डेशन नेपालद्वारा प्रकाशित एवम् आचार्य नारायण शरण सञ्जेलद्वारा नेपाली भाषामा पहिलो रचित वैदिक साहित्यिक कृति गणेश चालिसाको सामूहिक पाठ गरिएको छ । महाशिवरात्री पर्वका अवसरमा बर्दियाको गुलरियामा अवस्थित बगलामुखी मन्दिरमा आयोजित रात्रीकालिन शिवोत्सव कार्यक्रममा भक्तजनहरुले सामूहिक गणेश चालिसाको पाठ गरे ।

सोही अवसरमा बगलामुखी मन्दिर ब्यवस्थापन समितिले ५ सय प्रति उक्त गणेश चालिसा छापेर निःशुल्क वितरण गरेको बगलामुखी मंदिर ब्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले जानकारी दिनु भएको छ । पकेट बुक साईजमा गणेश चालिसा छपाईको लागि ओमशान्ति अफसेट प्रेस गुलरियाले मन्दिरलाई निःशुल्क सहयोग गरेको छ । नेपाली भाषाको पहिलो गणेश चालिसा माघ महिनामा बगलामुखी मन्दिरमा आयोजना गरिएको भक्तियोग समागम ०८१ मा पाठ गरिएको थियो । भक्तियोग फाउण्डेशन नेपालद्वारा प्रकाशित वैदिक साहित्यिक कृतिमा गणेश पुराणमा उल्लेखित सम्पूर्ण गणेश महिमा समेटिएको छ । सञ्जेलद्वारा रचित गणेश चालिसा भक्तहरुले रुचाएका छन् ।

गुलरिया नगरपालिका वडा नम्बर ७ निवासी भवानी श्रेष्ठले नित्य नेपाली भाषाको गणेश चालिसा पाठ गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, चालिसा नेपाली भाषामा भएकोले सरल छ । सञ्जेल गुरुज्यूले भक्तियोगमा पाठ गरेको स्वरशैलीमै पाठ गर्ने गरेका छौं । प्रत्येक विहिवार बगलामुखी मन्दिरमा हुने भजन किर्तनमा पनि सामूहिक गणेश चालिसा पाठगर्छौ उहाँले भन्नुभयो । बैदिक सत्साहित्य एवम् भक्तियोगको विश्वमा प्रचार, मानवलाई भक्तिप्रेममा जोड्दै निराश जीवनमा रुमल्लिएका नरनारीहरुलाई भागवत ज्ञानमार्फत आशा जगाउँदै गौ संरक्षणसँगै वैदिक ऋषि परम्पराको जगेर्नार्थ गुरु कुलिय शिक्षा पद्धति विस्तार गर्ने पवित्र उद्देश्य सहितको अभियान लिएर स्थापना गरिएको  फाउण्डेशनले आधा दर्जन धार्मिक कृतिहरु प्रकासन गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष आचार्य नारायण शरण सञ्जेलले बताउनु भएको छ । 

गणेश चालिसाका रचयिता सञ्जेलले फाउण्डेशन मार्फत गणेश चालिसासँगै भक्ति सरिता, संस्कार विज्ञान, मालिका भक्तिदर्शन, भक्तिसुधा लगायत महापुरुष कसरी जन्मिन्छ नामक वैदिक साहित्यिक कृतिहरु लोकार्पण गरीसकेको प्रष्ट्याउनु भयो । पकेट बुक साईजमा सनातन धार्मिक पुराणहरु मध्ये गणेश पुराणबाट सारोद्धारीत कथाको नेपाली भाषामा रचना गरिएको गणेश चालिसाको पाठ महाराज संजेलको स्वर तथा संगितकार शिशिर साधकको सुमधुर संगितमा भिडियो सामाग्री सार्वजनिक गर्ने तयारी भैरहेको छ । उहाँले भन्नुभयो, केही समय पश्चात सार्वजनिक गर्छौ ।

गणेश चालिसा पाठ मात्रले सुख, शान्ति, समृद्धिसँगै तेज, बल, बुद्धि प्राप्त हुने सनातन विश्वास छ । अवधि चौपाई शैलीमा रहेको नेपाली भाषाको गणेश चालिसा सनातनी भक्तहरुले रुचाएका पनि छन् । बाँकेको राँझा एरपोर्ट नेपालगञ्जमा फाउण्डेशनको केन्द्रिय कार्यालय छ । यसै बर्षदेखि भक्तियोग समागम ०८१ बर्दियाको गुलरिया स्थित बगलामुखी मन्दिर प्रांगणबाट सप्ताहब्यापी रुपमा आयोजना गरी शुभारम्भ गरेसँगै देशका विभिन्न जिल्लाहरुमा अभियानको रुपमा थालनी गरेका छौं । उहाँले थप्नुभयो, विस्तारै विदेशमा पनि प्रारम्भ गर्छौ । परसँस्कृति ग्रहणको नाममा भैरहेको बिकृति हटाउँदै धार्मिक सहिष्णुता कायम गर्न भक्तियोग समागमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास हाम्रो छ ।

अभियान अन्र्तगत धर्म सँस्कृति संरक्षणार्थ भागवत दर्शन, गीता ज्ञान, आत्मचिन्तन, भक्ति संगीत, मन्त्र साधना, ग्रह विज्ञान बिचार, धर्म विज्ञान विश्लेषण, योग शिविर, बाल बिकास, मातृपितृ भक्ति, राष्ट्र चिन्तन लगायतका कृत्यहरु गरिने फाउण्डेशनका संस्थापकाचार्य संजेलले बताउनु भयो । सप्ताह ज्ञान महायज्ञहरु पनिगर्दै आएका छौं । उहाँले थप्नुभयो, धर्म सँस्कृति जगेर्नागर्दै नयाँ पिढीहरुलाई सनातन सँस्कृतितर्फ उत्प्रेरणा जगाउँदै धार्मिक सँस्कार जोगाउँन फाउन्डेशनको मुख्य लक्ष्य छ ।
    

सम्बन्धित समाचार

Facebook Comments