बगलामुखी मन्दिरमा महाशिवरात्री पर्व धुमधामले मनाउने तयारी
चुरेकुञ्ज, १२ फागुन, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित बगलामुखी मन्दिरमा फागुन १४ महाशिवरात्री पर्व मनाउने धुमधामले तयारी भएको छ । मन्दिर प्रांगणमा अवस्थित पिताम्बरेश्वर महादेवस्थानमा एकादश ब्राम्ह्णद्वारा लघुरुद्रीगर्दै बिबिध कार्यक्रमसहित शिवरात्री पर्वलाई निरन्तरता दिईने भएको छ ।
महाशिवरात्री पर्वका अवशरमा लघुरुद्राभिषेकसँगै प्रसाद वितरण, भण्डारा, धुनीजागरण, महाआरती लगायत भजन किर्तनको तयारी गरिएको बगलामुखी मन्दिर ब्यवस्थापन समितिका सचिव एवम् महाशिवरात्री पर्व ब्यवस्थापन समितिका संयोजक दुर्गा आचार्यले जानकारी दिनुभयो । सोही अवसरमा बगलामुखी मन्दिरको गेटदेखि पूरानो शिक्षा कार्यालय सम्म दुईतर्फी झिलिमिलि पारिने उहाँको भनाई छ । शिवरात्री सम्पन्न गर्नका लागि मन्दिर ब्यवस्थापन समिति लगायत स्थानिय भक्तजनहरुको सहयोग रहेको छ ।
त्यस्तै महाशिव पर्व अवधिमा बर्दियाको बाँसगढीमा अवस्थित केदारेश्वर धाममा फागुन ११ गतेदेखि १५ गतेसम्म संगीतमय श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञसँगै महाशिवरात्रीका अवसरमा महाशिवरात्री विशेष पूजा आराधना कार्यक्रम आयोजना गरिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित मातंगी देवी मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा एकादश वटुकहरुद्वारा सस्वर लघुरुद्राभिषेक, श्रृगारिक महाआरतीसँगै भजन किर्तनको आयोजना गरिएको मन्दिरका पुजारी विभुती ज्ञवालीले जानकारी दिनुभएको छ । त्यस्तै गुलरियाको सुहेलवामा अवस्थित कोटही मन्दिरमा पनि शिवरात्रीको कार्यक्रम रहेको बताईएको छ ।
महाशिवरात्री पर्वकै अवसरमा बर्दियाको भादाघाटमा अवस्थित मुक्तेश्वर महादेव मन्दिर लगायत जिल्लाका विभिन्न स्थानहरुमा रहेका शिवालयहरुमा रुद्राभिषेक, विशषेष शिवपूजन भजन किर्तन लगायतका कार्यक्रमहरु आयोजना गरिएका छन् । गुलरिया ६ स्थित गौरीशंकर मन्दिर लगायतका शिवालयहरुमा महाशिवरात्री पर्वका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।
१९ °C काठमाडौं
Facebook Comments