मन्त्री तिमिल्सिनाले आफै पढेको विद्यालयबाट शुरु गरे ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान
मुरली गोडिया, १० फागुन, बर्दिया । लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले आफूले अध्ययन गरेको बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर २ मा रहेको श्री एकप्रिय राठौर माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र विद्यालयको सहआयोजनामा भएको कार्यक्रममा पूर्व विद्यार्थीको तर्फबाट मन्त्री तिमिल्सिनाले विद्यालयमा अक्षयकोष स्थापनार्थ एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नु भएको छ ।
अक्षयकोषका लागी विभिन्न व्यक्तिहरुले समेत सहयोगको घोषणा गरेका छन । उक्त रकमबाट आगामी दिनमा दलित जेहन्दार, विपन्न विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिनेछ । अभिायानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी रहेको भन्दै शिक्षा र संस्कार दुवैको अवश्यकता रहेको बताउनु भयो । आफु अध्ययन गरेको विद्यालयले थुप्रै विद्यार्थीहरु अहिले शिक्षा, स्वास्थ्य तथा राजनितीक विभिन्न पदमा पुगेको स्मरण गर्दै विद्यालयबाट सिकेको ज्ञान तथा शिक्षा संस्कारले आफु मन्त्री जस्तो पदमा पुगी सेवा गर्न पाएकोभन्दै खुशी ब्यक्त गर्नुभयो । अभियानको शुभकामना मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले विद्यालयमा शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
विद्यार्थीहरुलाई अध्ययनको साथसाथै विद्यालयले विभिन्न समाजिक कुरिती बारे सचेत गराउन जरुरी रहेको जोड दिनुभयो । विद्यालय उमेरदेखि नै विद्यार्थीहरु विभिन्न कुलतमा पर्न सक्नेतर्फ सचेत गराउँदै उहाँले अबको दिनमा बालविवाह, बहुविवाह, लागुऔषध लगायत सामाजिक समस्या बारेको सचेतना गराउनु पर्ने धारणा राख्नुभयो । शैक्षिक सरोकारवालाहरूको सकारात्मक भूमिका र सहयोगमा सामुदायिक विद्यालयको खस्कदो स्तरलाई क्रमशः सुधार गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनु यस अभियानको मुख्य उद्देश्य हो । विद्यालयमा बिगतमा अध्ययन गरी हाल विभिन्न संस्था, निकाय र क्षेत्रका जिम्मेवार पद र हैसियतमा रहेका पूर्व विद्यार्थी एवं व्यक्तिहरूलाई आफ्नो विद्यालय प्रतिको सेवाभाव जगाई सहयोगका लागि अभिप्रेरित गर्नु अभियानको अभिप्राय बताईएको छ ।
त्यस्तै सरोकारवालाहरूलाई विद्यालय शिक्षा सुधारमा आफ्नो भूमिका बोध गराई सहयोगी भावना जागृत गर्नु, विद्यालय शिक्षा व्यवस्थापनका विविध आयामहरू शैक्षिक, सामाजिक, आर्थिक, भौतिक, मानवीय पक्षमा सहयोग एवं सहजीकरण गर्नु अभियानका उद्देश्यहरू रहेका छन । सामुदायिक विद्यालयको सुधारमा उत्तरदायी प्रणालीको विकास गरी शिक्षामा सबैको पहुँच, सहभागिता, गुणस्तर र सान्दर्भिकता अभिवृद्धिमा सरोकारवालाहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले तय गरिएको मेरो विद्यालय मेरो दायित्व अभियानको आरम्भ लुम्बिनी प्रदेश सरकारबाट लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ सामुदायिक विद्यालयबाट २०८१ फागुन ९ गतेदेखि एकै साथ गरिएको छ ।
अभियानको प्रदेशका १०६ स्थानीय तह अन्तर्गतका ४ हजार ५ सय ३१ सामुदायिक र ५ सय ४० धार्मिक विद्यालयमा सरोकारवालाहरूको सामूहिक सहभागितामा विस्तार गरी यसका माध्यमबाट सामुदायिक विद्यालयहरुमा गुणात्मक सुधार गर्न खोजिएको छ । विद्यालयमा रहेका विविध समस्या तथा मुद्दालाई उजागर गरी शैक्षिक सुधारको अभियानलाई उपलब्धिमा आधारित उत्तरदायित्वको लागि एक सामाजिक आन्दोलनको रूपमा यस कार्यक्रमलाई प्रस्ताव गरिएको छ । शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्ट, गेरुवा गाँउपालिकाका प्रमुख जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, शिक्षक संगठनका प्रतिनिधी, पुर्व विद्यार्थी लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
१९ °C काठमाडौं
Facebook Comments