विद्यालय शिक्षा ऐन जारीगर्न मागगर्दै शिक्षा विकास तथा समन्वय ईकाई बर्दियामा ध्यानाकर्षण
पुरुषोत्तम खनाल, ९ फागुन, बर्दिया । बर्दियाको शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाईएको छ । विद्यालय शिक्षा ऐन शिघ्र जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार शुक्रवार ज्ञापन पत्र बुझाईएको हो । महासंघले २०७५, २०७८ र २०८० मा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीलाई बुझाएको हो ।
मुलुकमा संघीय शासन व्यवस्था लागु भएको एक दशक बित्न लाग्दा समेत नयाँ शिक्षा ऐन आउन नसक्नु दुःखद भएको उपस्थित शिक्षकहरूले बताउनु भएको थियो । नेपाल शिक्षक महासंघ बर्दियाका जिल्ला अध्यक्ष कृष्णराज शर्माले विगतमा शिक्षकहरूको आन्दोलनपछि सरकारसँग भएका सहमति अझैसम्म सम्बोधन नभएका कारण शिक्षकहरूका माग समेटेर तत्कालै शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले इकाइमा ज्ञापन पत्र बुझाएको बताउनुभयो । अहिले पनि २०२८ सालमा जारी भएकै शिक्षा ऐन कार्यान्वयनमा रहेका कारण विद्यालय शिक्षामा देखिएका तमाम समस्याहरू समाधान हुन नसकेको उहाँले स्पष्ट पार्नुभएको छ ।
‘‘मुलुक तीन तहको संघीय संरचनामा गई सक्दा समेत पुरानै ऐनबाट काम गर्नुपर्दा विद्यालय शिक्षामा धेरै समस्याहरू देखिएको उहाँको भनाई छ । नयाँ ऐन जारी गर्न सरकारसँग बारम्बार माग गरे पनि कुनै सुनुवाइ नभएपछि शिक्षकहरू आन्दोलित हुनु परेको गुनासो शिक्षकहरुको छ । महासंघका अनुसार स्थायी, राहत, शिक्षण–सिकाइ अनुदान, अस्थायी, करार, प्राविधिक शिक्षा, विशेष शिक्षा, तथा संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीहरूको पेसागत माग सम्बोधन गर्नुपर्नेमा सरकार अलमलमा परेको छ ।
साथै विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेको बेला सरकारले निवृत्तिभरण सम्बन्धी अध्यादेश ल्याएर शिक्षकको भावना विपरीत कदम चालेको शिक्षक महासंघको आरोप छ । शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षक, विद्यालय कर्मचारीको तलबमा सुधार, ग्रेड मिलान, शिक्षक अस्पताल, शिक्षकको मर्यादाक्रम, तथा शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने माग अघि सारेको छ । उनीहरूले माग सम्बोधन नभए अवरोधात्मक आन्दोलन, बहिष्कार र काठमाडौँ केन्द्रित सडक प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख खत्रीले सबैको माग सम्बोधन हुने गरी शिक्षा ऐन आउन जरुरी रहेको बताउनुभयो । महासंघले बुझाएको माग पत्रलाई जस्ताको त्यस्तै शिक्षा मन्त्रालयमा बुझाउने उहाँको प्रतिबद्धता छ । सो अवसरमा नेपाल शिक्षक महासंघका पदाधिकारी, नेपाल शिक्षक संगठनका अध्यक्ष भक्तिसागर रेग्मी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष माधवराज ढकाल, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य अर्जुन तिवारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य बलराम भुजेलको सहभागीता थियो ।
त्यस्तै जिल्ला सचिव हरि बहादुर बस्नेत, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश समिति महासचिव यज्ञ नेपाल, बारबर्दिया नगरपालिकाको नेपाल शिक्षक महासंघ नगर समिति अध्यक्ष पोमराज शर्मा, ठाकुरबाबा नगरपालिकाका अध्यक्ष बामदेव ढकाल, मधुवन नगरपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद खनाल, गुलरियाका नगरपालिका, बढैयाताल गाउँपालिका महासंघका अध्यक्ष, बाँसगढी नगरपालिका महासंघका अध्यक्ष लगायत विभिन्न स्थानिय तहका शिक्षक संघ, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बर्दिया जिल्ला नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिती समेत निर्माण गरि तत्काल स्थानीय स्तरमा समेत आन्दोलन परिचालन समिती गठन गर्ने निर्णय गरिएको छ । जस अनुसार जिल्ला स्तरिय समिती अन्र्तगत संयोजकमा माधवराज ढकाल (नेपाल शिक्षक संघ), सदस्यहरुमा भक्तिसागर रेग्मी (नेराशि संघ), सुदन थारु (कर्मचारी परिषद), ऋषि गौतम (एअनेशि संगठन), मिना भण्डारी (बाल विकास), नारायण पौडेल (नेपाल शिक्षक संघ), कमल सुवेदी (नेराशि संगठन), हरि बस्नेत (एअनेशि संगठन) र प्रेम बस्नेत (कर्मचारी परिषद) रहेको संयोजक माधवराज ढकालले जानकारी दिनु भएको छ ।
१९ °C काठमाडौं
Facebook Comments