• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
थारु गाउँहरुमा बखेरी शुरु : धमाधम नेतृत्व चयन गरिँदै

विन्दु चौधरी, ३ माघ, बाँसगढी (बर्दिया) । थारु गाउँमा माघी डेवानी वा बखेरी शुरु भएको छ । माघे संक्रान्तीको दोस्रो दिनदेखि शुरु हुने माघी डेवानीमा गएको वर्षको कामको समिक्षा र आगामी वर्षको योजना बनाउने गरिन्छ । 

बखेरीबाट गाउँको नेतृत्व गर्ने बरघर, गाउँको हुलाकीको काम गर्ने चिरकिया, चौकीदार, लोहार छनोट गर्ने परम्परा थारु गाउँमा रहेको छ । उक्त परम्परा अनुसार बिहिवार बाँसगढी ८ रेशमपुर गाउँको भेलाले पुरानै बरघर रिस्मान चौधरीलाई फेरी एक वर्षको लागि चुनेको छ । त्यस्तै रेशमपुर गाउँको चौकीदारमा रुपलाल चौधरी, मँतावामा रामशिव चौधरी, गुर्वा पुर्णबहादुर चौधरीलाई दिएको छ । १ सय ४६ घरधुरि रहेको रेशमपुर गाउँको प्रत्येक घरबाट १५० रुपैया का दरले उठाएर गुर्वालाई ज्याला दिने र प्रत्येक घरबाट ५।५ नम्मर धान तिहाई उठाएर बरघर, चौकीडार र मताँवालाई भाग लगाउने समेत निणर्य गरेको बाँसगढी नगरपालिका वाड नं ८ का वडासदस्य तथा स्थानियबासी शान्ती चौधरीेले जानकारी दिनुभयो ।

उनीहरुले गाउँमै ३ वटा कोष स्थापना गरी विभिन्न सामाजिक काममा लगाउदै आएका छन् । गाउँको भेलामा सरसफाई कोषका अध्यक्ष बसन्ती चौधरीले आर्थिक वर्षमा ३२ हजार ५७ रुपैया सरसफाई कोषमा रहेको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सामुहिक पुजापाठको लागि बरघर कोषमा एक वर्षमा उठाएको जम्मा २८ हजार मध्ये २७ हजार ४ सय ९५ रुपैया खर्च गरी अहिले ५ सय ५ रुपैया मौदात रहेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । गाउँको कोषमा ६० हजार २ सय ६७ रुपैया उठेकोमा २३ हजार खर्च गरी अहिले ३७ हजार ३ सय ६७ रुपैया मौज्दात रहेको जानकारी गराईएको छ । 

रेशमपुर गाउँका बरघर रिस्मान चौधरीको अध्यक्षतामा भएको बखेरीमा संघिय सांसद जावेदा खातुन प्रमुख अथिति रहनुभएको थियोे । बाँसगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम विषेश अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्बोधनगर्दै सांसद खातुनले रेशमपुर गाउँको सामुदायिक भवनलाई विस्तार गर्ने, पोखरी निर्माण गर्ने र रेशमटोल आमा चोकदेखि जाँगाटोल हुँदै दमौली जाने बाटो कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको वडासदस्य शान्ती चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments